यसरी हङकङसँग हारेको बंगलादेश जसरी नै दुई जित र एक हार बेहोरे पनि रन रेट कम भएकाले नेपाल सुपरटेनमा पुगेन। सुपरटेनमा पुग्न सकेको भए नेपालको जित अरू गौरवपूर्ण हुनेथियो। तर, अहिलेको सफलता पनि नेपाली क्रिकेटका लागि सानो होइन। क्रिकेट खेल्ने एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला समेत नभएको अवस्थामा खेलाडी र प्रशिक्षकले मुलुकलाई दिलाएको यो उपलब्धि सलामयोग्य छ। यो विजयलाई दिगो बनाउन अहिलेदेखि नै तयारी गरिएन भने चाहिं मुलुकको यो खुशी क्षणभंगुर हुनेछ। सफलताको पहिलो खुट्किलोले बढाउने आशा पूरा नहुँदा निराशा समेत ल्याउन सक्छ। त्यस्तो अवस्था आउनु नेपाली क्रिकेटका लागि दुर्भाग्य हो।
अहिलेको खुशीलाई दिगो बनाउन खेलाडी, नेपाल क्रिकेट संघ (क्यान) र संचार क्षेत्रको होस्टेमा सरकार र निजी क्षेत्रले पनि दिल खोलेर हैंसे गर्नुपर्छ। सरकारले नीति तथा कार्यक्रम मार्फत क्रिकेटका लागि रंगशाला बनाउने घोषणा गरेर सकारात्मक थालनी गरेको पनि छ। तर, कार्यान्वयन नभएको घोषणाको कुनै अर्थ हुँदैन। विकास निर्माणका अरू काममा जस्तै रंगशाला निर्माणमा वर्षौ लगाइयो, जमीन नपाएको नाममा अलमलाइयो वा निर्माणमा कसको भूमिका रहने भन्ने विवाद निकालियो भने दुर्भाग्यपूर्ण हुनेछ। ध्यान दिनुपर्ने कुरा– क्रिकेटमा बलियो दक्षिण एशियामा छिमेकीहरूसँग प्रतिस्पर्धा गर्न एउटा मात्र रंगशाला पर्याप्त हुने छैन। अन्तर्राष्ट्रियस्तरका दर्जनौं रंगशाला भएका भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने हो भने नेपालमा पनि हरेक विकास क्षेत्रमा स्तरीय रंगशाला बनाउनै पर्छ।
क्यानले पनि क्लबहरूलाई ब्यूँताउँदै तिनीहरूको राष्ट्रिय लिग आयोजना गर्नुपर्छ। त्यसमा क्रिकेटप्रेमी र निजी क्षेत्र पनि लाग्नुपर्छ। क्रिकेटप्रेमी र निजी क्षेत्र तन, मन र धनका साथ लागेनन् भने क्लबहरू बन्न सक्दैनन्। बलिया क्लब नबनेसम्म प्रतिस्पर्धी राष्ट्रिय लिग आयोजना हुन सक्दैन। बलियो लिग हुँदा मात्र क्षमतावान र प्रतिस्पर्धी खेलाडी उत्पादन हुनसक्छन्। भौतिक पूर्वाधार तयार पारेर अवसर सिर्जना गरियो भने मात्र युवाहरू क्रिकेटमा उत्प्रेरित भएर स्टारहरू जन्मिने छन्, आफ्ना सन्तान क्रिकेटमा लाग्दा बिग्रँदैनन् भनेर आमाबाबु विश्वस्त हुनेछन्। र क्रिकेटको पक्षमा राष्ट्रिय मनोविज्ञान निर्माण हुनेछ।
नेपालले अहिले नगन्य लगानीमा क्रिकेटमा सफलता पाएको छ। लगानी बढाउने हो भने सफलता बढ्छ। त्यसका लागि सानैदेखि क्रिकेट सिकाउने एकेडेमी आवश्यक छ, जहाँ आवश्यक खेल सामग्री होस्, योग्य प्रशिक्षक हुन्, विदेशीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने गरी 'स्टामिना' बढाउन चाहिने खान्कीको व्यवस्था होस्। यही विश्वकपमा पनि हामीले देख्यौं– विदेशीको तुलनामा नेपाली खेलाडीले थोरै मात्र 'बाउण्ड्री' पाए। अर्थात्, स्टामिनाको अभावले छक्का र चौकाको वर्षा हुन सकेन। सानैदेखि आत्मविश्वासपूर्वक प्रतिस्पर्धा गर्न सक्ने बनाउन मनोवैज्ञानिक प्रशिक्षण पनि उत्तिकै आवश्यक देखिन्छ। यी सबै पूर्वाधारको व्यवस्था हुने हो भने नेपाली युवाले प्रतिस्पर्धा गरेर जो कोहीलाई बोल्ड गर्न सक्छन्।