खेलको नियम पालना गर

Share:
  
p6

 

संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न 'एसीसी ट्रफी एलिट–२०१२' को सह–विजेता बनेर नेपाली क्रिकेट टीमले दशैंको मुखमा आम नेपालीलाई धन्य बनाए। २६ असोजमा शारजहाँ क्रिकेट स्टेडियममा यूएई विरुद्ध फाइनल खेल भइरहँदा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा देखिएको नेपाली हुटहुटीमा विजयोल्लासको चाहना झ्ल्किएको थियो; चुलिंदो राजनीतिक अस्थिरता, सामाजिक अविश्वास, महँगी, कुशासन, भ्रष्टाचार आदिबाट निराश आम नागरिक चाडको उमङ्गमा क्रिकेटको सफलता जोड्न आतुर देखिन्थे।  
 
क्रिकेटलाई 'अनप्रेडिक्टेबल' मानिन्छ। थोरबहुत अनुमान चले पनि परिणाम यही हुन्छ भन्न सकिन्न, जस्तो नेपाल र यूएईबीच पनि भयो। जितका लागि अन्तिम बलमा दुई रन चाहिएको बेला नेपाली ब्याट्सम्यानका अगाडि छक्का, चौका, तीन रन, दुई रन लिएर टीमलाई विजयी बनाउने विकल्पसँगै 'डट बल' मा पराजित हुने या एक रन मात्र लिएर स्कोर बराबर पार्ने स्थिति विद्यमान थियो। सँगै 'नो बल' वा 'वाइड बल' बाट पुरस्कृत हुने सम्भावना पनि! थुप्रै विकल्पबीच स्ट्राइकमा रहेका शक्ति गौचनले एक रन मात्र जोड्न सके, नेपाल ट्रफीको बराबरी हकदार बन्न पुग्यो। एउटा इतिहास रचियो। 
 
खेलको अन्तिम क्षण तनावपूर्ण बनिरहँदा ४९औं ओभरको अन्तिम बल खेलेका शक्तिले शरद भेषवाकरलाई अन्तिम ओभरमा 'स्ट्राइक' दिने अनुमान धेरैको थियो। तर, शक्ति एक रन लिएर आफैं स्ट्राइकमा बसे। लामो समयदेखि क्रिजमा टिकेका भेषवाकरबाट विजयका लागि आवश्यक ६ बलमा १२ रन पूरा हुने अपेक्षा आफैंमा अनुचित थिएन। शक्तिले अन्तिम बलमा एक रन मात्र लिनसके, खेल बराबरीमा टुंगियो। प्रतिस्पर्धामा विजय वा पराजय मात्र हुँदैन, कहिलेकाहीं विजय समेत बाँडिन्छ भन्ने यो दृष्टान्त जातीय, वर्गीय, क्षेत्रीय घृणा बढाउने गरी चलिरहेको आजको कुरुप नेपाली राजनीतिका लागि एउटा सुन्दर पाठ हो। संयुक्त विजेता युएईले 'हामी त आयोजक भइहाल्यौं, पाहुना भएकाले ट्रफी तपाईंहरू नै लैजानोस्' भनेर देखाएको शालीनता यहाँका राजनीतिकर्मीले सिक्नुपर्ने अर्को पाठ हो।  
 
अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले जातीय र क्षेत्रीय जामा भिराएर चलाइरहेको मुलुकको पछिल्लो राजनीतिमा विपक्षीहरूको निकम्मा, लाचार र ढुलमुले बलिङमा ब्याटिङ लाइनमा रहेको एनेकपा माओवादी कुशासन, भ्रष्टाचार र महँगीको रन जोडिरहेको छ। शान्तिको पुनर्बहाली र नयाँ संविधानको निर्माणसँगै संक्रमणकाल टुंग्याउन शुरू भएको राजनीतिक म्याच विपक्षीहरूको निराशाजनक बलिङ तथा सरकारको निकृष्ट ब्याटिङका कारण अस्थिरता, अराजकता र अन्योलमा फँसिरहेको छ। दर्शक–दीर्घा मौन छ। समानता, न्याय र समृद्धिसहितको सामेली समाज निर्माणमा केन्द्रित हुनुपर्ने राजनीति अविश्वास, घात–प्रतिघात र झूटमा पदार्पण भइसक्दा पनि आम मानिसहरू राजनीति पुनः अपेक्षित अवस्थामै फर्कनेमा आशावादी छन्। राज्यको निर्माणदेखि नै कायम यस्तै आशाहरूले नेपाली समाजलाई निराशाको भुंग्रोमा पुग्न नदिएको हो।  
 
विडम्बना त मुलुकको पछिल्लो राजनीतिलाई स्थापित गर्न सफल नागरिक समाजबाट प्रकट भइरहेछ, जो 'निर्वाचनका लागि' संविधानसभाको अवसान गराउने एमाओवादी नेतृत्व र प्रधानमन्त्री बाबुराम भट्टराईबाट संविधानसभा पुनर्स्थापनाको लबिङ भइरहँदा पनि मौन छ। वर्गीय, जातीय, क्षेत्रीय उत्पीडनविरुद्ध भनिएको माओवादी हिंसात्मक विद्रोह विदेशी सत्तासामु विन्तीपत्र हालेर सञ्चालित भएको खुलासा र 'सत्ताको साँचो बाहिर छ', 'नेपाल छिमेकीहरूमा सबमर्ज हुनसक्छ' जस्ता इतिहासमा कहिल्यै नसुनिएका प्रधानमन्त्री भट्टराईका कलुषित विचारमा समेत प्रतिक्रियाविहीन छ, नागरिक समाज।  
 
क्रिकेट खेलको अम्पायरझै संविधानतः बहुलवादी लोकतान्त्रिक राजनीतिको संरक्षकको भूमिकामा रहेका राष्ट्रपतिलाई अराजनीतिको खेल हेर्न बाध्य बनाइएको र खेलाडीहरूको हाँक व्यहोर्न लगाइएको छ। क्रिकेट (राजनीति) खेल नै भइरहेको अपेक्षा राखेर बसेका यी अम्पायरले बुझन जरुरी छ― क्रिजमा अहिले क्रिकेट हैन, 'गिलीडण्डा' (अराजनीति) को खेल भइरहेछ। सबैभन्दा धेरै त सम्बन्धित खेलाडीहरूले नै बुझन जरुरी छ― उनीहरू क्रिकेट (राजनीति) मा नफर्कने र गिलीडण्डामै मस्त हुने हो भने खेलमा हावी तिनै (दक्षिणपन्थी) हुन्छन्, जो गिलीडण्डामा निपुण छन्। अनि दर्शकले पनि क्रिकेट खेलाडीको गिलीडण्डा प्रदर्शन भन्दा निपुणहरूकै 'खेल' हेर्न रुचाउनेछन्, जुन स्वाभाविक पनि हो। खेलको अन्तिम ओभरअघिको 'ड्रिङ्क्स्–ब्रेक' (बडादशैं) मै नेपाली राजनीतिका खेलाडीहरूलाई खेलको पहिचान र नियम बुझन सक्ने शक्ति प्राप्त होस्!  
 
दशैं, तिहार र छठको शुभकामना!! !
comments powered by Disqus

रमझम