१२-२५ असोज २०७१ | 28 September 2014

सम्बन्ध सुमधुर बनाउँ

Share:
  

संविधानसभाको तेस्रो ठूलो दल तथा व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी एनेकपा माओवादीले नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको गुणगान गाउन थालेको छ। नयाँ संविधान निर्माणमा बुद्धि र मिहिनेत लगाउनुपर्ने बेला उसले बेमौसममा मुलुक निर्माताको स्तुति गाउनु भने अनौठो छ। किनभने, उनलाई औपचारिक रूपले सम्झिने जन्मोत्सव २७ पुस आउन अझै तीन महीना बाँकी छ।

त्यसो त, आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानबारे जुनसुकै बेला पनि सम्झ्न र प्रशंसा गर्न नमिल्ने होइन। तर, 'जनयुद्ध' काल र त्यसपछिको शान्तिकालमा पनि पृथ्वीनारायण शाहलाई गाली गर्दै र उनका सालिक समेत भत्काउँदै आएको एमाओवादीले अहिले प्रशंसा गाउनु भने अनौठो र शंकास्पद छ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आम नेपालीले अहिलेसम्म पृथ्वीनारायण शाहलाई नचिने जसरी अहिले प्रशंसा गरिरहेका छन्। यसले, उनी कुनै षड्यन्त्र सफल पार्न यसमा लागेको देखाउँछ। यस्तो आशंका गरिनुमा उनको षड्यन्त्रकारी विगत र छविले पनि भूमिका खेलेको छ।

यो बेग्लै हो कि, दाहालले पृथ्वीनारायण शाहको गुणगान षड्यन्त्रको उद्देश्यले भन्दा स्वीकारोक्ति वा बाध्यताले गाएका हुनसक्छन्। तर, हिजो मुलुकलाई विभाजन गर्न समेत सक्ने आत्मनिर्णयको अधिकार (छुट्टिन पाउनेसम्मको) सहितको संघीयताको पक्षमा लागेका उनी अहिले १८० डिग्री विपरीत दिशामा पुग्नुले आशंका जन्माउने नै भयो।

एमाओवादीको इतिहासले पनि उसलाई आशंका गर्ने ठाउँ दिएको छ। उसमा विचार, नीति र व्यवहारमा कहिल्यै एकरूपता देखिएन। उसको अवस्था जहिल्यै पीङ जस्तै रह्यो, एउटा छेउबाट अर्को छेउ पुगे जस्तै। २०४८ को संसदीय (आम) निर्वाचनमा एमाओवादीको पूर्वरूप नेकपा (एकताकेन्द्र) सहभागी भएकोमा तीन वर्षमै माओवादी बनेर 'दीर्घकालीन जनयुद्ध' भन्दै हिंसामा उत्रिन पुग्यो। त्यसबेलाको पहिलो दल एमालेलाई 'संशोधनवादी' भनेको ऊ अहिले एमाले नै बन्ने प्रयत्न गर्दैछ।

यसबीचमा उसले 'प्रचण्डपथ' रोज्यो, पहिले आफैंसँग फुटेका नारायणकाजी श्रेष्ठ 'प्रकाश' सँग एकता गर्दै फेरि त्यसलाई त्याग्यो। 'जनयुद्ध' को शुरूमा जातीय विभेद अन्त्यको नारा लगाएको ऊ शान्ति प्रक्रियामा आउँदा जातिवादको मुख्य पृष्ठपोषक भइसकेको थियो।

जनआन्दोलनलाई खारेज गरेर हिंसामा लागेको उसले १० वर्षमै जनआन्दोलन आवश्यक रहेको निष्कर्ष निकाल्यो। कुनै बेला भारतविरुद्ध सुरुङयुद्ध गर्ने भनेको उसले पछि भारतीय प्रधानमन्त्री कार्यालयमा बिन्तीपत्र हाल्यो। दलहरूविरुद्ध तत्कालीन राजासँग हात मिलाउन तयार रहेको ऊ भारतको सहयोगमा दलहरूसँग १२ बुँदे समझ्दारी गर्न पुग्यो। अहिले दाहालले पृथ्वीनारायण शाहबारे बोलेको विचार पनि त्यो सिलसिलाभन्दा फरक देखिंदैन।

पृथ्वीनारायण शाहबारे एमाओवादी यो ठाउँमा आइपुग्नुमा संघीयताको विपक्षमा ऊ पुग्न लागेको संकेत पनि केहीले मानेका छन्। पृथ्वीनारायण शाहको एकीकरणलाई प्रशंसा गर्दा अखण्ड नेपाललाई यसै स्वीकारिन्छ। त्यो स्वीकारेपछि आत्मनिर्णय सहितको संघीयता आफैं अस्वीकृत बन्छ। मधेशवादी लगायत साना जातीय र क्षेत्रीय दलहरूको मोर्चा टिकाइराख्न एमाओवादीले अझ्ै आत्मनिर्णय सहितको संघीयता भने पनि पृथ्वीनारायण शाह सम्बन्धी नयाँ दृष्टिकोणले उसलाई पुर्‍याउने भनेको त्यही ठाउँमा हो।

यसरी, पृथ्वीनारायण शाहबारे एमाओवादी अहिले ठीक ठाउँमा आएको देखिए पनि उसको समग्र प्रवृत्ति ठीक देखिंदैन। ऊप्रति अविश्वास बढ्नुको कारण पनि त्यही हो। लोकतान्त्रिक पद्धतिमा राजनीतिक दल सफल हुन विश्वसनीयता कमाउनुपर्छ भन्ने मान्यता छ। विश्वसनीयताका लागि दलहरूले कहिलेकाहीं क्षणिक रूपमा हानि हुने भए पनि निर्णयमा अडिग रहनुपर्छ, रहन्छन्। तर, साना स्वार्थका लागि एमाओवादी भने निरन्तर विश्वसनीयता गुमाइरहेको छ।

एमाओवादी अहिले लाग्नुपर्ने संविधान निर्माणमै हो। संविधान निर्माणमा इमानदारीपूर्वक लाग्दा मात्र उसको विश्वसनीयता निर्माण हुन सक्छ। र, संविधान निर्माणमा उसले सहकार्य गर्नुपर्ने पनि कांग्रेस र एमाले सँगै हो। किनभने, १२ बुँदेदेखि उसलाई सहयोग गरेर शान्ति प्रक्रियामा ल्याउने तथा अनेक अप्ठ्यारो फुकाउन सघाउने उनीहरू नै हुन्। एमाओवादीले यो सत्यलाई बुझयो भने मात्र प्रमुख तीन दलको सम्बन्ध सहज हुन्छ तथा मुलुकले निकास पाउँछ। अहिलेको मुलुकको आवश्यकता भनेको संविधान निर्माणका लागि तीन दलबीच दरिलो सहकार्य नै हो।

बडादशैं २०७१ को मंगलमय शुभकामना ।

comments powered by Disqus

रमझम