६-१२ वैशाख २०७२ | 19-25 April 2015

अनुदार शासक, दिलदार मित्र

Share:
  

२७ कात्तिक २०३६ मा धनकुटाको छिन्ताङमा तत्कालीन नेकपा माले मास्ने नाममा गोली चलाएर १६ जनाको हत्या गरियो। ३२ भदौ २०६० मा रामेछापको दोरम्बामा २१ जना माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएर सामूहिक हत्या गरियो। २०३७ सालको जनमत संग्रहमा पंचायती व्यवस्थालाई जिताउन राज्यकोष दुरुपयोगदेखि वन विनाशसम्मका हत्कण्डाहरू भए। यी र यस्ता घटना, जो सूर्यबहादुर थापालाई एउटा शासकको रूपमा अनुदार देखाउन काफी छन्। तर थुप्रै शासकीय दुर्गुणका बाबजूद, निरंकुश पंचायत र त्यसपछिको प्रजातान्त्रिक व्यवस्थाको केन्द्रबिन्दुमा रहन सक्नु थापाको विशेषता थियो।

'सोसियो–पोलिटिकल जज्मेन्ट' को खूबीले उनलाई शाही निरंकुशतादेखि लोकतन्त्रसम्मको राष्ट्रिय राजनीतिको केन्द्रमा राख्यो। तीन–तीन जना राजा र प्रजातान्त्रिक कालका सबै प्रधानमन्त्रीका लागि थापा राज्य संचालनको सर्वाधिक सकसपूर्ण क्षणमा निकास दिने माध्यम बने। उनलाई अबको समयमा के हुँदैछ भन्ने ठम्याएर तदनुरूप गर्ने राजनीतिक खेलाडीको रूपमा सम्झिनुपर्छ।

नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहले दुई विशाल चट्टानबीचको तरुल भनेको मुलुकमा थापाले तरुल वा ढुंगा जे भए पनि यो दक्षिणाभिमुख छ भन्ने 'कन्भिक्सन' बनाए। यसले पनि उनलाई राजनीतिको केन्द्रमा रहन सफल बनायो। नेपाललाई उनी दक्षिण पानीढलो भन्थे, आफ्नो राजनीतिक व्यवहारलाई पनि दक्षिणाभिमुखी नै गराए। त्यसैको प्राप्ति थियो, समयको पदचाप ठम्याउने उनको खूबी र पाँच–पाँच पटकको प्रधानमन्त्रीत्व।

धेरैको बुझाइमा, राजनीतिले जता डोर्‍यायो, त्यतै डोरिए– थापा। अति दक्षिणपन्थी कोणको यो बुझाइ उनको शासनकालमा चुलिएका भ्रष्टाचार, प्रजातान्त्रिक खेमाको राजनीतिले पाएको हैरानी र वामपन्थीहरूले बेहोर्नुपरेको यातनाको अनुभवको कसीमा हेर्दा सही लाग्छ। तर, संक्रमणकालमा निरंकुशता लाद्ने योजनामा रहेका राजा महेन्द्रको निगाहमा राजनीतिक पदस्थापन भएर गणतन्त्रसम्मलाई सहज स्वीकार गरेका व्यक्तिको राजनीतिक मूल्यांकन त्यो आधारमा मात्र गर्दा एकाङ्गी हुन सक्छ। प्रजातान्त्रिक संविधान निर्माण र संसदीय निर्वाचनको पूर्वसन्ध्यामा निरंकुश योजना बुनिरहेका राजा महेन्द्रले धनकुटाबाट टपक्क टिपेर सल्लाहकार सभाको सदस्यहुँदै अध्यक्ष बनाउनुमा निश्चय पनि निरंकुश व्यवस्थाको दिगोपनकै अभीष्ट थियो। जुन थापाले भलिभाँती निर्वाह गरे।

तर, पूर्वी पहाडी गाउँ मुगाको मध्यमवर्गीय क्षत्री परिवारका थापाले काठमाडौंकेन्द्रित सामन्ती राज्यसत्तामा ठाउँ बनाउँदै गर्दा भएको घर्षणले दलविहीन पंचायतभित्रै नजानिंदो गरी प्रतिपक्षीय अवधारणा पनि जन्मायो। पंचायतभित्रको त्यही संघर्षले उनको छविलाई 'उदारवादी' बनाइदियो। दरबारका चोटाकोठामा हुने राजनीतिक संघर्षमा उनको उपस्थितिले पंचायतभित्र धाँजा पार्दा प्रजातन्त्रवादीहरूले समेत 'उदारवादी' देखे। त्यतिबेलाको राजनीतिमा कमजोर हुनेवित्तिकै उनले चाल्ने कदमहरूले निरंकुश व्यवस्थाभित्र विपक्षको राजनीति कायम हुन पुग्यो, जुन कतिपय अवस्थामा प्रजातान्त्रिक आन्दोलनका लागि अनुकूल बन्थ्यो। जस्तो, राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्यको माग राख्दा पक्राउ परेका थापाले १ पुस २०२९ मा कारागारमै होम गरेर कालो चरु लगाएको चर्चित घटनाले प्रजातन्त्रवादीहरूले मनाउने 'कालो दिन' को महत्ता झ्नै बढाएको थियो।

पंचायतकालभर राजाको उपयोगितामा आफ्नो राजनीतिक उत्थान र पतन भोगेका थापा प्रजातान्त्रिक/लोकतान्त्रिक व्यवस्थामा पनि प्रभाव छाड्न सफल भइरहे। करीब ६० वर्षको सक्रिय राजनीतिमा नेपालमा दक्षिण छिमेकीको 'भरपर्दो मित्र' बनेका उनी कांग्रेस होस् वा वामपन्थी, सबैका लागि उपयोगी सावित भए। भारतको संस्थापन (विशेषगरी नेहरू–गान्धी परिवार) का विश्वासी हुनुले उनलाई नेपालमा राजा, नेता सबैका लागि सकसका सजिला सहयात्री बनाएको थियो।

राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछिको एक भेटमा उनले हिमाल सँग 'अति राष्ट्रवादले नेपालमा शासन गर्न दिंदैन' भनेका थिए। नेपालमा शासन गर्न राष्ट्रियताको चर्को नारा उराल्ने होइन, सुझ्बुझ् देखाउनुपर्ने उनको आशय थियो। भूगोल अनुसारको समाज र समाज अनुसारको राजनीति हुने बुझ्ेका थापाका लागि दक्षिण पानीढलोको रूपमा रहेको नेपालको अवस्था राम्रो वा नराम्रो हुनुमा दक्षिणी छिमेकसँगको सम्बन्ध निर्णायक हुने कुरा अर्को सत्य थियो।

यही बुझाइ–व्यवहारले थापालाई नेपालमा गिरिजाप्रसाद कोइरालापछि सबभन्दा बढी शासनको बागडोर सम्हाल्ने नेता बनायो। उनी राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रदेखि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल र माधवकुमार नेपालसम्मका नेताको राजकीय अप्ठेरोमा निकटतम सहयोगी बने। २ वैशाख २०७२ मा भारतको नयाँदिल्लीमा देहावसान भएका थापालाई नेपालको राजनीतिक इतिहासमा अनुदार शासक र दिलदार मित्रका रूपमा स्मरण गरिनेछ।

comments powered by Disqus

रमझम