१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

जाजरकोटको सन्देश

Share:
  

१० चैतदेखि ११ वैशाखसम्म जाजरकोटमा २९ जनाको मृत्यु भएको छ। केही मृतकका परिवारजनले बताएका लक्षण 'स्वाइन फ्लु' सँग मिल्न गएपछि जाजरकोट 'महामारी' को मुख्य कारक एचवान एनवान भाइरसलाई मानियो। काठमाडौं र चितवनमा समेत देखिइसकेको यही भाइरसले मध्यपश्चिमका दुर्गम गाउँका मानिसलाई मृत्युको मुखमा पुर्‍याउन थालेको विश्वास राष्ट्रिय संकटको रूपमा पेश भएको छ। करीब तीन सातामा 'पान्डेमिक इन्फ्लुएन्जा' (महामारी बनेर फैलने) कै रूपमा पाइएपछि यसलाई चिकित्सकीय परिभाषा अनुसार 'महामारी' मानियो।

एउटा निश्चित क्षेत्रमा, निश्चित समयभित्र, निश्चित रोगका कारणले मृत्यु हुनेको संख्या प्राकृतिक मृत्युदरभन्दा बढी हुँदा 'महामारी' कहलिन्छ भने त्यही प्रवृत्ति अन्य क्षेत्रमा फैलिंदा प्रकोप। जाजरकोटमा यस अवधिमा भएका सबै मृत्युको कारक 'स्वाइन फ्लु' नै भएको निश्चित नभए पनि 'रेस्पोन्स' मा सुस्तता देखाएको सरकारले घोषणा गर्नुअघि नै संचार जगतले यसलाई 'महामारी' को रूपमा लियो र तदनुरुपको प्रतिक्रिया जनायो। परिणाम; जाजरकोटको वास्तविकतामा विमर्श भन्दा सिंगो देश दैनन्दिनको मृत्यु गणनासँगै नेता, सरकार, प्रशासनिक प्रणाली र चिकित्सक दलमाथिको दोषारोपणमा केन्द्रित रह्यो।
यसरी लम्बिंदो संक्रमणकालसँगै क्रमशः आफ्नो छवि गिराउँदै गएका दल, नेता तथा सरकार संचालकहरूप्रतिको सामाजिक आक्रोश एकमुष्ट प्रकट भइरहेको थियो, जाजरकोटप्रतिको समवेदनाको नाममा। सेवाभन्दा व्यापार, गाउँभन्दा शहर पहिचान बनाउँदै गएका स्वास्थ्यकर्मीहरूप्रतिको रोष त पुरानै भइहाल्यो, सत्ता सञ्चालकप्रतिको आक्रोशको माध्यम पनि बन्यो जाजरकोटको पीडा। यद्यपि, प्रभावित क्षेत्रमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीहरूको बेवास्ता गरेको यो असन्तुष्टि त्यही कारणले सतही पनि बन्न पुग्यो।

त्यत्रा मानिसले मृत्युवरण गर्नुपर्ने अवस्था उत्पन्न हुनुको वास्तविक कारण के हो त? हाम्रो बुझाइमा, देशको भूगोलभर विस्तार हुन नसकेको स्वास्थ्य सेवा, स्वास्थ्य सचेतनाको कमी, विविध कारणले रोग प्रतिरोधात्मक क्षमता न्यून भएको जनसांख्यिक बहुलता, क्वारेन्टाइन चेकपोष्टको अभाव र द्रुत 'रेस्पोन्स' गर्ने निकायको अभाव जस्ता अवस्था नै पछिल्लो मात्र नभई जाजरकोटले ६ वर्षअघि झेल्नु परेको महामारी समेतको मुख्य कारण थियो। यी पाँच कारणको आलोकमा हेर्ने हो भने ६ वर्षअघिको झडापखालाले नै हाम्रो यथार्थ छर्लङ्ग पारिसकेको देखिन्छ। जाजरकोट मात्रै किन, मुलुकमा यस्ता दुर्गम पहाडी कन्दरा र मधेशी देहातहरूको प्राधान्य छ, जहाँ उल्लिखित पाँच अवस्थाले जुनसुकै बेला पनि कुनै भाइरसको सहज प्रवेश कहरको कारण बनिदिन सक्छ।

जाजरकोटको एउटा कटु यथार्थ, स्वास्थ्यकर्मी भेट्न नपाएका बिरामीहरू बाँच्न सकेनन्। सिंहदरबारले भाग लगाउने स्वास्थ्य सेवा उनीहरूको भाग्यमा परेन, सिंहदरबारले अतिरिक्त उदारता देखाउँदासम्म रोगसँग लड्ने उनीहरूको शक्ति रहेन। यहाँ, फेरि पनि तिनै पाँच अवस्था जिम्मेवार देखिन्छ। यद्यपि, एकथरि स्वास्थ्यकर्मी रोग प्रभावित क्षेत्रमा खटिएकै थिए। एउटै चिकित्सकले हजारभन्दा बढी बिरामीको उपचार गरेको तथ्य होस् या आफैंमा 'स्वाइन फ्लु' को लक्षण देखिएपछि एक जना स्वास्थ्यकर्मी स्वयम्को उपचारमा लाग्नुपरेको यथार्थ, यसले यो पुष्टि गर्छ। समर्पित स्वास्थ्यकर्मीहरूका अगाडि प्रभावित क्षेत्रका एउटा गाउँबाट अर्कोमा पुग्नै दिनभर लाग्ने चुनौती त छँदैथियो।

रहनसहन, खानपान र रोगका प्रकोप हाम्रो भूखण्डको वास्तविकता हो। बढ्दो विश्वसंसर्गबाट पछिल्लो समय थपिएको अर्को वास्तविकता हो– पान्डेमिक इन्फ्लुएन्जा। 'स्वाइन फ्लु डिटेक्ट' गरिएका कतिपय बिरामी भर्खरै भारत लगायतका मुलुकबाट आएको थाहा भएको छ। मौसम अनुसार फैलिरहने मौसमी इन्फ्लुएन्जाबाट ग्रस्त व्यक्तिमा पान्डेमिक इन्फ्लुएन्जाको भाइरसको सहज संक्रमण जाजरकोट महामारीको अर्को तथ्य हो। संसारका देशहरूले पान्डेमिक इन्फ्लुएन्जालाई आफ्नो सरहदभित्र प्रवेश नदिन क्वारेन्टाइन चेकपोष्टको दह्रो व्यवस्था गरेका हुन्छन्। हिजो सार्स, बर्ड फ्लु जस्ता पान्डेमिक इन्फ्लुएन्जाको विश्वव्यापी कहर चल्दा पनि चूपचाप बसेको मुलुकले यसपटक 'स्वाइन फ्लु' को प्रसार रोक्ने प्रभावकारी उपाय अवलम्बन गर्न नसक्नु अनौठो भएन।

यो अवस्थामा जाजरकोटको सन्देश भनेको तत्काल दूरदराजसम्म स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य सचेतना, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउने गरिको आर्थिक–सामाजिक सशक्तिकरण, क्वारेन्टाइन चेकपोष्ट र द्रुत 'रेस्पोन्स' गर्ने निकायको व्यवस्था नै हो। संक्रमणकालको अन्त्य र सामान्यकालतर्फको प्रवेशले मुलुकका थुप्रै समस्याका बीच यसतर्फको तदारुकतालाई सहज बनाउनेछ।

comments powered by Disqus

रमझम