२३-२९ फागुन २०७२ | 6-12 march 2016

विवेक प्रयोग गर

Share:
  

देशको सबभन्दा पुरानो र व्यवस्थापिका संसद्भित्रको ठूलो दल नेपाली कांग्रेस यतिखेर १३औं महाधिवेशन सम्पन्न गर्ने चरणमा छ। आगामी कार्यकालका लागि नीति तय र त्यसलाई कार्यान्वयन गर्न सक्ने गरिको नेतृत्व चयन गर्ने हुनाले लोकतान्त्रिक दलहरूका लागि महाधिवेशनले ठूलो महत्व राख्छ। प्रजातन्त्र प्राप्तिको संघर्षको नेतृत्व गरेको कांग्रेस आजपर्यन्त लोकतान्त्रिक आन्दोलनको नेतृत्वमा रहन सफल पनि भएको हो, विभिन्न कालखण्डका महाधिवेशनमार्फत यसले लिएका नीति र चयन गरेका नेतृत्वबाटै।

'संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र' को नीति लिने बीपी कोइराला हुन् वा 'संघीय लोकतान्त्रिक गणतन्त्र तथा संसदीय प्रजातन्त्रतर्फ अगाडि बढेका गिरिजाप्रसाद कोइराला, नीति र नेतृत्वको सामञ्जस्यताबाटै यो पार्टी यहाँसम्म आइपुगेको हो। नीति र नेतृत्वको बेमेलकै कारण दुई सभापति मातृकाप्रसाद कोइराला र सुवर्णशमशेर राणा कार्यकाल नसकिंदै बाहिरिनु परेको पनि कांग्रेसमै हो। जबकि, बीपी कोइरालाले पार्टी स्थापनाकालमा लिएको नीतिमै रहेका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसादको अनुसरण गरेका सुशील कोइरालाले आफ्नो कार्यकाललाई सफल बनाए, भलै पार्टी व्यवस्थापनलाई लिएर केही विवाद भएको होस्।

प्रजातन्त्रमाथि राजाबाट पटक–पटक भएको प्रहार र मुलुकमा भड्किएको माओवादी हिंसाको समाप्तिका लागि संवैधानिक राजतन्त्र छाडेर लिएको संघीय गणतन्त्रको नीतिमै दुई–दुई वटा कार्यकाल विताइसकेको कांग्रेसले आफ्नै नेतृत्वको सरकार हुँदा संविधानसभामा संविधान निर्माण गरेर कार्यान्वयनको चरणमा पुर्‍याएको छ। करीब दुई दशकबाट संस्थापन र असन्तुष्ट खेमामा विभक्त कांग्रेसभित्र पार्टीले लिएको पछिल्लो नीतिका आलोचकहरू अवश्य छन्, तर दुवै खेमाको सहमतिमा गणतन्त्रको पछिल्लो नीति संस्थागत भएको बिर्सन मिल्दैन।

लगभग स्थापनाकालबाटै बीपी कोइराला, कोइराला परिवार पक्षीय अन्यसहितको संस्थापन र कोइराला नेतृत्वप्रति असन्तुष्टहरूबीचको टकरावबाट परिपक्व हुँदै आएको नेपाली कांग्रेसको कमान पार्टीको इतिहासमै पहिलोपटक 'कोइराला' बाहिर जाने आकलन छ। असन्तुष्ट समूहका पछिल्ला नेता शेरबहादुर देउवालाई जुरेको यो अवसरलाई 'ऐतिहासिक परिवर्तन' का रूपमा अर्थ्याउने कांग्रेसजनको कमी छैन। दुई खेमामा बाँडिएर नेतृत्व दाबी गरिरहेको संस्थापन पक्षमध्येका एक रामचन्द्र पौडेल समूह– कोइराला निवासको दोस्रो पुस्ताको सहयोगमा आफूलाई वास्तविक संस्थापन बताउँदै आएको छ। यसअघिसम्म कोइराला विरोधी खेमामा रहेर राजनीति गरेका पौडेललाई जुरेको यो अवसरलाई पार्टी नेतृत्वमा कोइरालाहरूको पुनरागमनको तयारीको संक्रमणका रूपमा अर्थ्याउने कांग्रेसजनको पनि कमी छैन। यो समूहबाट बीपी पुत्र शशांक कोइराला महामन्त्रीको प्रत्यासी छन्। अर्को महाधिवेशनमा उनैले पार्टी नेतृत्वमा कोइराला परिवारलाई पुनःस्थापित गर्ने संस्थापन पक्षको विश्वास छ।

तत्कालीन विद्रोही नेकपा माओवादीसँगको बहुचर्चित १२ बुँदे सहमति र गणतन्त्रको नीति कार्यान्वयनदेखि संघीय लोकतान्त्रिक संविधान निर्माणसम्मको चरणमा दुई सभापति गिरिजाप्रसाद र सुशील कोइरालाका मुख्य सहयोगी रहेका कृष्णप्रसाद सिटौलाको अर्को समूह खडा छ, जो त्यो सक्रियताले आफूलाई वास्तविक संस्थापन र पछिल्लो नीतिको सच्चा अनुयायी सावित गरेको ठान्छ। आन्दोलनबाट उठेका प्रभावशाली युवा नेता गगन थापा महामन्त्रीको प्रत्यासी भएकोले यसलाई आमूल परिवर्तनको धार मान्ने कांग्रेसजन पनि उल्लेख्य छन्। शुक्रबार राति अबेरसम्म कायम यी तीन प्रत्यासीमध्येका एकले आगामी पाँच वर्षका लागि कांग्रेसको कमान सम्हाल्ने छन्। यद्यपि, देशभरका ३ हजार २१८ महाधिवेशन प्रतिनिधिका लागि ऐतिहासिक परिवर्तन र संक्रमणकालीन राजनीतिको नेतृत्व गरेको कांग्रेस पार्टीको भावी नेतृत्व चयन कम सकसपूर्ण छैन, पार्टीको एकता र सुदृढ सञ्चालन जस्ता कुरा त्यसैमा निर्भर हुने भएकोले।

नीतिगत रूपमा कुनै भिन्नता नभएका तीन समूहबीच महाधिवेशन प्रतिनिधिहरू चलायमान छन्। हरेक साँझ्–बिहान फरक परिरहेको समर्थक संख्या सम्भवतः मतपेटिकासम्म नपुगेसम्म स्थिर हुने छैन। कांग्रेसको इतिहासले भन्छ– सशस्त्र क्रान्तिबाट राष्ट्रिय मेलमिलापतर्फ होस् वा प्रजातन्त्र पुनर्बहालीका लागि वामपन्थीहरूसँगको सहकार्य वा संवैधानिक राजतन्त्रबाट संघीय गणतन्त्रतर्फको अग्रसरता, यो पार्टीले ऐतिहासिक परिवर्तन, संक्रमणकालीन नेतृत्व र आमूल परिवर्तन– तीन वटै परिस्थितिमा नेतृत्वदायी अनुभव हासिल गरेको छ। यसरी एउटै नीतिमा बाँधिएका तीनथरी प्रत्यासीमध्येबाट एकलाई नेतृत्वमा उठाउने परिस्थितिमा कांग्रेसजन पहिलोपटक पुगेका छन्। यो अवस्थामा उनीहरूले मनन् गर्नुपर्ने कुरा हो– परिवर्तन आजको राष्ट्रिय राजनीतिको यथार्थ हो भने परम्परा कांग्रेस पार्टीको चरित्र। र, आफ्नो विगतप्रतिको गर्व यो पार्टीको विशेषता हो। त्यहीकारण, पार्टी जीवनमा बीपी कोइराला आजपर्यन्त त्यत्ति नै छाउन सफल छन्, जति सातदशक अघि छाएका थिए।

यसर्थ हाम्रो विचारमा, १३औं महाधिवेशनले कांग्रेसका लागि माग गरेको भनेको यसको पारम्परिक चरित्रसहित २०६२/६३ सालको राष्ट्रिय राजनीतिमा आएको परिवर्तनलाई सम्वर्द्धन गर्न सक्ने नेतृत्व हो, जुन पक्ष–विपक्ष र गुट–उपगुटभन्दा माथि उठेर प्रत्येक प्यानलभित्रका अनुहार नियाल्दा पाउन सकिन्छ। त्यस्तो परिष्कारले मात्र एउटा प्यानललाई नै आफ्नो 'स्व' मान्दा पार्टीकै सर्वस्व हुने खतराबाट जोगाउँछ। त्यसका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिले गर्नुपर्ने काम एउटै छ– विवेकको प्रयोग।

comments powered by Disqus

रमझम