२९ बैशाख २०७० | 12 May 2013

'हिटम्यान' बन्ने कारण बुझौं

Share:
  

देशमा बढिरहेका व्यक्तिहत्या र हत्या प्रयासका पछिल्ला घटनाले केही डरलाग्दा तथ्य उजागर गरेका छन्। जसमध्ये प्रमुख हो– पैसा लिएर हत्या गर्ने 'कन्ट्रयाक्ट किलिङ'।

समाजमा बढिरहेका यस्ता अपराधले दिने सन्देश भनेको समाज असुरक्षित हुँदैछ भन्ने नै हो। जसका लागि प्रमुख जिम्मेवार सुरक्षा सम्बद्ध निकाय हुन्। दण्डहीनता र राजनीतिमा व्याप्त अपराधीकरण यस्ता अपराध बढ्नुका अरू कारण हुन्। तर; धर्म, परम्परा र रुढीवादमा विश्वास राख्ने नेपाली समाजमा पैसा लिएर हत्या गर्ने यस्ता 'हिटम्यान'हरू किन जन्मिए भन्ने प्रश्नको जवाफ भने खोज्न आवश्यक भइसकेको छ।

कहालीलाग्दो बेरोजगारी र 'परिवर्तन'का नाममा समाजमा आएको हलचल यस्ता अपराध र अपराधी बढाउने महत्वपूर्ण कारण हुनुपर्छ। बेरोजगारी 'कन्ट्रयाक्ट–किलर' आपूर्ति गर्ने साधन बनेको देखिन्छ भने जग्गा दलाली, म्यानपावर, ढुकुटी जस्ता राज्यको सूक्ष्म निगरानी नपुगेका आर्थिक कारोबारले दिलाउने अप्रत्यासित आम्दानी र त्यसले सिर्जना गर्ने द्वन्द्व त्यसको मागको कारण बनेको पाइन्छ।

नेपाली समाजमा पैसा वा सम्पत्तिका लागि परिचालित हुने 'हिटम्यान'हरू यसअघि नै देखिए पनि तिनको प्रयोग सत्ता–षड्यन्त्रमा मात्र सीमित थियो। चौधौं शताब्दीमा भक्तपुरमा आश्रय लिएकी तिरहुतिया रानी देवलदेवीले त्यहाँका राजा रुद्र मल्लको ज्वाईंलाई मार्न लगाएको घटना र २०४३ सालमा पत्रकार पदम ठकुराठीलाई मार्न विकास गुरुङ परिचालित हुनु सत्ता षड्यन्त्रसँग सम्बन्धित थिए। पछिल्लो समय भने आर्थिक लेनदेन र विवाहेत्तर सम्बन्ध 'कन्ट्रयाक्ट–किलिङ' को कारण बनेको देखिन्छ। ६ वैशाख २०७० मा राजधानीको जडीबुटीमा भएको शिक्षिकाको हत्या प्रयासमा ढुकुटीको कारोबार, व्यक्तिगत व्यवसाय र पारिवारिक सम्बन्ध कारण देखिनु त्यसको उदाहरण हो।

नेपाल जीवनस्तर सर्वेक्षण अनुसार आव २०५२/५३ मा ०.३२२ रहेको समानता र असमानता जनाउने 'गिनी कोफिसियन्ट' २०५९/६० मा बढेर ०.४१४ पुगेको थियो भने २०६७/६८ मा ०.३२८ मा झ्र्‍यो। 'गिनी कोफिसियन्ट' बढ्दा समाज आर्थिक रूपमा असमानतातर्फ उन्मुख छ भन्ने बुझिने हुँदा यो तथ्याङ्कले झ्ण्डै डेढ दशक यता समाजमा आर्थिक असमानता बढेको स्पष्ट हुन्छ।

ढुकुटी, घर–जग्गा दलाली, म्यानपावर लगायत अर्बौं रुपैयाँको कारोबारमा अपराधको हिस्सेदारी ज्यादा रहेको पाइएको छ। माओवादीको हिंसात्मक विद्रोहले समाजमा ल्याएका नकारात्मक परिवर्तनलाई कसैले मिहिन विश्लेषण गरेका छैनन्। राष्ट्रिय जनगणना अनुसार २०५८ मा ४२ लाख ५३ हजार २२० को संख्यामा रहेको परिवार संख्या १० वर्षको अन्तरालमा २७.५१ प्रतिशतले वृद्धि भएर ५४ लाख २३ हजार २९७ पुग्दाको परिवर्तन र त्यसले समाजमा पारेको असर–प्रभावबारे पनि कसैको चासो पुगेको छैन।

परिवार संख्या वृद्धि संयुक्त परिवारको अवधारणामा क्षयीकरण हुनुको परिणाम हो। तर, संयुक्त परिवारमा आधारित राज्यका नीतिहरू उस्तै छन्। परिवार बढेपछि राज्यले दिने सेवाको माग, आप्रवासन, शहरीकरण बढ्ने, पैतृक पेशा संकटमा पर्ने र पारिवारिक मूल्य–मान्यतासहितका पुस्तैनी ज्ञान तथा सीपको हस्तान्तरणमा अवरोध आउने तथ्यप्रति पनि राज्यको ध्यान पुगेको देखिंदैन। हिजोको मान्यताबाट निर्मित राज्यका नीतिहरूले आजका दिनमा काम नगर्नु स्वाभाविक हो।

अपराधका घटना नयाँ रूपमा बढ्नुमा समाजमा भइरहेका यी परिवर्तन मह140वपूर्ण कारण देखिन्छन्। मुलुकको लम्बिंदो संक्रमणकालले नेपाली समाजमा भइरहेका अनेकौं परिवर्तन देख्न अझै बाँकी नै छ। निस्सासिंदो राजनीतिक संक्रमणले आम नेपालीलाई कठिन अवस्थामा बाँच्न थुप्रै सिर्जनशील उपाय सिकाए पनि सामाजिक विचलन ल्याइरहेको सच्चाइ थाहा पाउन नसक्दा अरू समस्या झेल्नुपर्ने हुनसक्छ।

तर, यी सबै चुनौतीबारे न राजनीतिक दललाई चासो छ, न त सरकारलाई नै। समाजमा भइरहेको यो परिवर्तनलाई नबुझदासम्म 'हिटम्यान' उत्पादन गर्ने हदमा पुगेको नेपाली समाजलाई सही ट्रयाकमा ल्याउन सकिंदैन।

comments powered by Disqus

रमझम