म्यान्मार र जापानको भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी ६ कात्तिकमा स्वदेश फर्किएकी छन् । शुरुमा म्यान्मार भ्रमणमा गएकी उनी जापानका सम्राट नारुहितोको गद्दी आरोहणमा सहभागी हुन उतैबाट टोकियो पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गएको २९ असोजदेखि ३ कात्तिकसम्म त्यहाँको राजकीय भ्रमण गरेकी थिइन् । उनी ३ कात्तिकमा जापानी सम्राट नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्मारबाट जापानतर्फ प्रस्थान गरेकी थिइन् ।
सुरुङ मार्गको शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा सुरुङमार्गको शिलान्यास गरेका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा ४ कात्तिकमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास गरेका हुन् । सडक विभाग अन्तर्गतको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ ।
सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । ४२ महीनामा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सुरुङ्गमार्गको लागत रु. १३ अर्ब रहेको छ । दहचोकदेखि–सिस्ने खोलासम्मको उक्त सुरुङमार्गको लम्बाइ २.६ किलोमिटर; चौडाइ ९.५ मिटर र उँचाइ १८ मिटर हुनेछ ।
प्रधानमन्त्री बाकुमा
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८औं सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु गएका छन् । सम्मेलनमा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको क्रममा उनले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् । ७–९ कात्तिकसम्म चल्ने शिखर बैठकमा १२५ सदस्य राष्ट्रको सहभागिता रहेको छ ।
आफ्नो स्वतन्त्र पहिचान, विचार र नीतिको अडान राखेर एकताबद्ध भएका मुलुकहरुले सन् १९६१ मा असंलग्नता आन्दोलन शुरु गरेका हुन् ।
पूर्व आईजीपी सिंहको निधन
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको ७ कात्तिकमा निधन भएको छ । फोक्सोमा समस्या देखिएर उपचारका लागि ह्याम्स अस्पताल भर्ना भएका सिंहको त्यहीं निधन भएको हो ।
बझाङमा जन्मिएका सिंह २०४३ सालदेखि २०४७ सम्म प्रहरी महानिरीक्षक बनेका थिए । सिंह सुदूरपश्चिमबाट महानिरीक्षक बन्ने पहिलो व्यक्ति हुन् ।
बाख्रा विज्ञको सम्मेलन सम्पन्न
चितवनको रामपुरमा एशियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय र पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा ३ कात्तिकबाट शुरु भएको तीनदिने सम्मेलनले चारबुँदे रामपुर घोषणापत्र सार्वजनिक गरेको छ । सम्मेलनमा विभिन्न १७ देशका बाख्रा सम्बन्धी विज्ञहरुको सहभागिता रहेको छ ।
सम्मेलनका सहभागीहरुले अन्तर्राष्ट्रिय बाख्रा विज्ञहरुको सञ्जाललाई अझै फराकिलो पार्ने, अनुसन्धान र उपलब्धिबाट प्राप्त नतिजा आदान–प्रदान गर्ने, व्यावसायिक बाख्रापालन सम्बन्धी सरकारी नीतिलाई समयसापेक्ष बनाउन परिमार्जन गर्ने र बाख्रामा लाग्ने पीपीआर रोग सन् २०३० सम्ममा निर्मूल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी सम्मेलनले बाख्राको उत्पादन बढाएर लागत र आयात दुवै घटाउने उपायहरु सरकारलाई सुझावका रुपमा पेश गर्ने प्रस्ताव पनि अघि सारेको छ ।