२२-२८ मंसीर २०७६ | 8-14 Dec 2019

प्रधानमन्त्री ‘डिस्चार्ज’

Share:
  

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली १९ मंसीर विहीवार डिस्चार्ज भएका छन् ।

अघिल्लो मङ्गलवार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । चिकित्सकका अनुसार अप्रेसन गरेको घाउ बाहिर निको भए पनि भित्र निको हुन केही समय लाग्नेछ । चिकित्सकहरूले प्रम ओलीलाई धेरै हिंडडुल र उठबस नगर्न सल्लाह दिएका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार शल्यक्रियाको घाउ निको हुने क्रममा छ । नियमित औषधि सेवन र केही दिन धपेडी कम गर्नासाथ ओली नियमित कार्यमा फर्कन सक्ने डा. शाहको भनाइ छ ।


विस्तार हुँदै फाइबर नेटवर्क

१९ मंसीर नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा अप्टिकल फाइबर (सूचना महामार्ग) बिछ्याउने सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार टेलिकमले दुई वर्षभित्र करीब २५०० किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्नेछ ।

रु.३ अर्ब लागतको अप्टिकल फाइबर बिछ्याउने यस परियोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्मका २० वटा जिल्लामा फाइबर नेटवर्क विस्तार गर्नेछ ।


कुलमानलाई प्रविधि पुरस्कार

यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङले पाएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले देशलाई लाडसेडिङ मुक्त गराउन योगदान पुर्‍याएको भन्दै एकलाख रुपैयाँ राशिको सो पुरस्कार घिसिङलाई प्रदान गरेको हो । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नाष्टका सहकुलपति गिरिराजमणि पोखरेलले नाष्टको ३७औं वार्षिकोत्सवको अवसरमा २० मंसीर ललितपुरमा आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरेका हुन् ।


निजगढमा रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुख कटानबारे कुनै निर्णय नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश टड्ढबहादुर मोक्तानको एकल इजलासले अर्को निर्णय नआएसम्म रुख कटानबारे कुनै पनि निर्णय नलिन २० मंसीरमा सरकारका नाममा आदेश दिएको हो ।

द्वारिकानाथ ढुङ्गेल, कृष्णप्रसाद भण्डारी, तारा सापकोटा लगायतका ९ जनाले १६ मंसीरमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठूलो संख्यामा रुख कटान हुन लागेको भन्दै सर्वोच्चमा रीट दर्ता गरेका थिए ।

उक्त रीटको सुनुवाइ गर्दै न्यायाधीश मोक्तानको इजलासले यसबारे छलफल गर्न दुवै पक्षलाई २९ मंसीरमा बोलाएको छ ।


रेडक्रसको कार्यकारी प्रमुखमा चापागाई

अन्तर्राष्ट्रिय रेडक्रसको कार्यकारी प्रमुखमा पहिलो पटक नेपाली चयन भएका छन् । चितवनका जगन चापागाई अन्तर्राष्ट्रिय रेडक्रसको कार्यकारी प्रमुख अर्थात् महासचिव चयन भएका हुन् ।

१९० मुलुकमा कार्यरत रेडक्रसको यो सबैभन्दा माथिल्लो निकाय हो । यो तहमा अहिलेसम्म कुनै पनि नेपाली पुगेका थिएनन् ।

comments powered by Disqus

रमझम