१३-१९ पुस २०७६ | 29 Dec 2019- 4 Jan 2020

भारतीय राजदूत पुरीको कार्यकाल सकिंदै

Share:
  

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल १५ पुसमा सकिंदैछ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरिसकेका छन् । तीनवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका पुरी ६० वर्ष पुगिसकेकाले कूटनीतिक सेवाबाट समेत अवकाश लिंदैछन् ।

पूर्व राजदूत रञ्जित रेको कार्यकाल सकिएपछि भारत सरकारले २०७३ चैतमा पुरीलाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो । उनले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धमा सन्तुलित भूमिका खेलेका थिए । खासगरी भारतीय नाकाबन्दी पछि बिग्रेको दुईपक्षीय सम्बन्ध सुधार गरी दुई देशबीच उच्चस्तरको भ्रमण गराउन सफल उनले कुशल कूटनीतिज्ञको छाप छाडेका छन् । राजदूत पुरीको कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक नेपाल भ्रमण गरे भने राष्ट्रपति भण्डारीले एक पटक र प्रधानमन्त्री ओलीले दुई पटक भारत भ्रमण गरे ।

भारतले नेपालसँगका कुनै पनि परियोजनाको फलोअप गर्ने परिपाटी नरहेकोमा त्यसलाई पुरीले नै तोडेको पूर्व परराष्ट्र सचिव मदन भट्टराईको मूल्यांकन छ । उनले नेपालमा जिम्मेवारी सम्हालेपछि परियोजनाबारे हरेक महीनाको एक पटक संयुक्त बैठक बोलाउन थाले । सरल व्यक्तित्वका पुरीको क्षमता पहिचान गरेर फाइदा लिनबाट नेपाल सरकार चुकेको भट्टराई बताउँछन् । नेपालका लागि पूर्ववर्ती भारतीय राजदूतहरूको तुलनामा शालीन र नरम मिजासका पुरी २०७५ चैतमा पूर्वराजा ज्ञानेन्द्र शाहसँगको भेटको विषयले भने विवादमा तानिएका थिए । जनकपुर पुगेका वेला एउटै होटलमा बास पर्दा कतिपयले दुई बीच भेट भएको भनी अथ्र्याउँछन् भने केहीको भनाइमा संयोग मात्र थियो ।

सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका पुरी २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघका लागि राजदूत बनेका थिए । २०७३ माघमा बेल्जियममा राजदूतको कार्यकाल सकिएपछि उनी नेपालका लागि सिफारिश भएका हुन् ।


महासंघमा ढकालको उम्मेदवारी

उद्योगी–व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा व्यवसायी चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बाग्लुङमा ११ पुसमा शुरु बाग्लुङ महोत्सवको उद्घाटन समारोहमा ढकालले उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल हाल महासंघको वस्तुगततर्फका उपाध्यक्ष छन् । महासंघको साधारणसभा तथा निर्वाचन आगामी चैतमा हुनेछ ।


पूर्व सचिव श्रेष्ठको निधन

निमोनिया भएपछि पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । १० पुस बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा श्रेष्ठको निधन भएको हो । श्रेष्ठलाई उपचारका लागि ९ पुसमा अस्पताल लगिएको थियो ।


समाजवादी पार्टीले सरकार छोड्यो

समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका दुवै जना मन्त्रीले राजीनामा दिएका छन् । ८ पुसमा उपप्रधानमन्त्री एवं कानून न्याय एवं संसदीय व्यवस्था मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजीनामा दिएका थिए । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने प्रयास सफल नभएपछि समाजवादी पार्टीले सरकार छोड्ने निर्णय गरेको थियो । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।


१२२ चिनियाँ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चीनको अन्तर्राष्ट्रिय समन्वय विभाग अन्तर्गतको एनसीबी बेइजिङसँगको सहकार्यमा काठमाडौंका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चार्ली फोस्टर नाम दिइएको यो अपरेसनले काठमाडौंका विभिन्न स्थानका ९ वटा घर भाडामा लिएर ठगी धन्दा गरिरहेका चिनियाँलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

सामाजिक सञ्जाल ‘वीच्याट’ प्रयोग गरी उनीहरूले ठगी गर्ने गरेको जानकारी ९ पुसमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रहरीले दिएको छ । प्रहरीले उनीहरूबाट ७४६ वटा मोबाइल फोन, ३३१ वटा ल्यापटप र ३२७ वटा सिमकार्ड समेत बरामद गरेको छ ।

comments powered by Disqus

रमझम