२०-२६ पुस २०७६ | 5-11 Jan 2020

छात्रालाई निःशुल्क प्याड

Share:
  

देशभरिका सामुदायिक विद्यालयमा अध्ययनरत १४ लाख ३७ हजार छात्राले निःशुल्क सेनेटरी प्याड पाउने भएका छन् । १४ पुसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेका छन् । मन्त्री पोखरेलले ललितपुरको सिद्धिपुर माविका चार छात्रालाई प्याड वितरण गरेर अभियान शुरु भएको घोषणा गरे । सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन आर्थिक वर्ष २०७६/७७ मा सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो ।

यस अभियान अन्तर्गत ६ देखि १२ कक्षासम्म अध्ययन गर्ने छात्राहरू समेटिने जानकारी शिक्षा विभागले दिएको छ । निःशुल्क प्याड वितरण अभियानका लागि रु.१ अर्ब ५० करोड बजेट आवश्यक पर्ने भए पनि सरकारले चालु आर्थिक वर्षमा रु.१ अर्ब २७ करोड ७३ लाख ३७ हजार मात्र विनियोजन गरेको छ ।

राष्ट्रपतिद्वारा भिजिट नेपाल २०२० उद्घाटन

दशरथ रङ्गशालामा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले १६ पुसमा ‘भिजिट नेपाल २०२०’ को शुभारम्भ गरेकी छन् । सरकारले ‘भिजिट नेपाल २०२०’ मार्फत २० लाख पर्यटक भिœयाउने महत्वाकांक्षी लक्ष्य राखेको छ । अहिले वार्षिक १० देखि १२ लाखसम्म पर्यटक नेपाल आइरहेका छन् । नेपालमा पहिलो पटक सन् १९९८ मा ५ लाख र सन् २०११ मा दोस्रो पटक १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘नेपाल भ्रमण वर्ष’ को आयोजना गरिएको थियो । यी दुवै वर्षमा सरकारले राखेको लक्ष्य भन्दा केही कम पर्यटक आएका थिए ।

प्रदेशसभा बैठक २१ पुसबाट

प्रदेश–३ को प्रदेशसभा बैठक २१ पुसबाट शुरु हुने भएको छ । गत २५ भदौमा स्थगित बैठक चार महीनापछि बस्न लागेको हो । प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक सोमबार अपराह्न ३ बजेबाट शुरु हुने जानकारी दिएको छ ।

प्रदेशको नामकरण र स्थायी राजधानीका विषयमा सत्तारुढ नेकपाभित्र विवाद बढेपछि ‘बिजनेश’ नभएको भन्दै सरकारले बैठक राख्न ढिलाइ गरिरहेको थियो । १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख विष्णु प्रसाईंसमक्ष प्रदेशसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुख प्रसाईंले बैठक राख्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइसकेका छन् ।

१३ पुसमा सत्तारुढ दल नेकपा सचिवालय बैठकले प्रदेश–३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने गरी पार्टीभित्र आन्तरिक निर्देशन दिएसँगै मुख्यमन्त्री डोरमणि पौडेलको सक्रियतामा सोमबार साँझ ६ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक राखिएको थियो ।

हुलाक टिकटमा सङ्गीतकार

हुलाक सेवा विभागले सङ्गीतकार अम्बर गुरुङ र नरराज ढकालका मुखाकृति अड्ढित हुलाक टिकट सार्वजनिक गरेको छ । हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले १३ पुसमा आयोजित एक समारोहमा गुरुङ र ढकालको नाममा प्रकाशित रु.१० मूल्यको हुलाक टिकटमा प्रथम टाँचा लगाएका थिए ।

गुरुङ नेपालको राष्ट्रियगानका सङ्गीतकार हुन् । आधुनिक सङ्गीत विधाका प्रसिद्ध सङ्गीतकार गुरुङका २०० भन्दा बढी गीत–सङ्गीत प्रचलनमा छन् । त्यस्तै सङ्गीत प्रवीण नरराज ढकाल शास्त्रीय सङ्गीत विधाका अग्रणी व्यक्तित्व हुन् ।

उखु किसानको आन्दोलन स्थगित

सरकार र आन्दोलनरत उखु किसानबीच १८ पुसमा पाँचबुँदे सहमति भएको छ । सहमतिपछि उखु किसानले गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । वार्ताका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पहल गरेका थिए । सहमति अनुसार चिनी उद्योगीले ७ माघभित्र उखु किसानलाई तिर्नुपर्ने सम्पूर्ण रकम उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने भएको छ ।

त्यस्तै उखुको उत्पादकत्व बढाउन किसानलाई समयमै मल, बीउ लगायत मेशिन उपलब्ध गराउने र नेपाली चिनी उद्योगलाई आत्मनिर्भर बनाउन पहल गर्ने सहमति भएको छ । यसबाहेक उखु बिक्री गरेको रकम तुरुन्त भुक्तानी हुने गरी स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन सहसचिवको संयोजकत्वमा किसान प्रतिनिधि र विज्ञसम्मिलित कार्यदल बनाई त्यसले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ ।

उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा देखिने समस्या सम्बोधन गर्न उद्योग मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखालाई सम्पर्क महाशाखा तोक्ने; र काठमाडौं आई आन्दोलन गरिरहेका किसानले १८ पुसबाटै आन्दोलनका गतिविधि स्थगित गर्ने सहमति पनि भएको छ ।

comments powered by Disqus

रमझम