४–१० फागुन २०७६ | 16-22 Feb 2020

१० प्रतिशतले घट्यो चालु आवको बजेट

Share:
  

सरकारले चालु आर्थिक वर्षको बजेट र राजस्व दुवैको आकार घटाएको छ । अर्थ मन्त्रालयले २९ माघमा बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार करीब १० प्रतिशत घटाएको हो । यो वर्ष रु.१५ खर्ब ३२ अर्ब ९६ करोड खर्च गर्ने योजनासहित सरकारले बजेट ल्याएको थियो । तर मध्यावधि समीक्षा मार्फत रु.१३ खर्ब ८५ अर्ब मात्र खर्च हुने अर्थमन्त्रीले अनुमान गरेका छन् ।

बजेटको आकार नै घटाउनुले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेको देखाएको छ । विकास निर्माण लक्षित पूँजीगत रकमतर्फ यो वर्ष सरकारले रु.४ खर्ब ८ अर्ब बजेट खर्च गर्ने संसद्सामु प्रतिबद्धता जनाए पनि त्यसलाई संशोधन गरेर रु.३ खर्ब २७ अर्ब मात्र खर्च गर्न सक्ने जनाएको छ । पुस मसान्तसम्ममा पूँजीगत रकम खर्च कुल विनियोजनको १५.३८ प्रतिशत मात्रै छ ।

अर्थ मन्त्रालयले राजस्व सड्ढलन गर्न समेत अपेक्षित सफलता नपाउने देखिएको छ । यो वर्ष रु.९ खर्ब ८१ अर्ब राजस्व सड्ढलन गर्ने लक्ष्य राखिएकोमा रु.९ खर्ब ३७ अर्ब मात्रै सड्ढलन हुने संशोधित लक्ष्य छ ।

चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की

चिकित्सकहरूको छाता सङ्गठन नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. लोचन कार्की निर्वाचित भएका छन् । निर्वाचनमा ६ हजार १५७ मतमध्ये डा. कार्कीले ४ हजार १११ मत पाउँदा अध्यक्षका अर्का प्रतिस्पर्धी पेशागत समावेशी समूहका डा.पुष्पमणि खरालले १ हजार ९७९ मत पाए ।

संघको निर्वाचन उपत्यका बाहिरका शाखामा ४–५ माघ र काठमाडौंमा १७–२१ माघमा सम्पन्न भएको थियो । आगामी १५ फागुनमा पोखरामा हुने सम्मेलनबाट नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिने कार्यक्रम रहेको संघले जनाएको छ ।

कुवेतमा ६ नेपाली कामदारको मृत्यु

कुवेतको साउथ अल–मुत्ला सिटीमा ढिस्कोले पुरिएर २९ माघमा ६ नेपाली कामदारको मृत्यु भएको छ । पाइप बिछ्याउन करीब ५ मिटर गहिरो खाडल खनेर सावेलले भुइँ सम्याइरहेका वेला उनीहरु पुरिएका थिए । ती नेपाली कामदारलाई युनिभर्सल लिडर्स एन्ड जेनेरल कन्स्ट्रक्टिङ कम्पनीले काममा खटाएको थियो । कुवेतको सबैभन्दा ठूलो आवासीय शहर निर्माणमा नेपाली कामदार पनि प्रयोग भइरहेका छन् ।

त्यहाँ कार्यरत नेपाली कामदारहरू लुलु इन्टरनेशनल, एसओएस र समत म्यानपावरबाट पठाइएका हुन् । घटनास्थल कुवेत सिटीबाट ४० किमी टाढा पर्छ ।

दिल्लीमा केजरीवालको ह्याट्रिक

भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) अत्यधिक बहुमतका साथ विजयी भएको छ । २८ माघमा सार्वजनिक मत परिणाम अनुसार विधानसभाको ७० सिटमध्ये आपले ६२ सिटमा विजय हासिल गरेको छ ।

भारतीय जनता पार्टी (भाजपा) ८ सिटमा सीमित भएको छ । सन् २०१३ मा केजरीवाल सत्तामा आउनुअघि १५ वर्षसम्म लगातार शासन गरेको राष्ट्रिय कंग्रेस पार्टीले एक सिट पनि जित्न सकेन । सन् २०१५ को निर्वाचनमा आपले ७० मध्ये ६७ सिट जितेको थियो । सन् २०१३, २०१५ र २०२० गरी केजरीवालले ह्याट्रिक गरेका छन् ।

निलम्बनमा पर्‍यो पानोरामा रिसोर्ट

आठजना भारतीय पर्यटकको निसास्सिएर ज्यान गएपछि मकवानपुरको थाहा नगरपालिका–४ सिमभन्ज्याङस्थित एभरेष्ट पानोरामा रिसोर्ट निलम्बनमा परेको छ । पर्यटन मन्त्रालयले २६ माघमा रिसोर्ट तीन महीनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

रिसोर्टले पर्यटन ऐन, २०३५ बमोजिम पर्यटन विभागबाट तोकिएको सुरक्षात्मक उपाय नअपनाएको, व्यवस्थापकीय कमजोरी रहेको र स्तर वर्गीकरण समेत नगराएको निलम्बनपत्रमा उल्लेख छ । रिसोर्टमा गत ६ माघमा बास बसेका पर्यटकको मृत्यु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

comments powered by Disqus

रमझम