जेठ २०७९ | 15/05/2022

सामाजिक सञ्जालबारे बहस गराउने अङ्क

Share:
  
- हिमालखबर

पाठक–समीक्षा

सामाजिक सञ्जालबारे बहस गराउने अङ्क

हिमालको २०७९ वैशाख अङ्क आम पाठक मात्र नभई पत्रकारिता अध्ययन गर्ने, मिडियाकर्मी सबैका लागि महत्त्वपूर्ण लाग्यो । सामाजिक सञ्जालको दुरुपयोग र यसले निम्त्याएका असर, चुनौती, सही प्रयोगका उपाय र मिडिया साक्षरतासम्मका विषय समेट्ने प्रयास सराहनीय छ ।

सामाजिक सञ्जालमा जसरी सबैको सहज पहुँच छ, उसै गरी यसको गलत प्रयोग चिन्ताको विषय बनिरहेको छ । यसको दुरुपयोगका कारण कैयौं घटना र अपराध समेत भएका छन् । हिमालले यस विषयमा विभिन्न कोणबाट सामग्री समेट्दै नेपालमा सामाजिक सञ्जालको अवस्था र यस सम्बन्धी बहसलाई अझ् फराकिलो बनाएको छ । उमेश श्रेष्ठको आवरणले मिथ्या सूचना फैलाउन, जनमत प्रभावित पार्न तथा समाज ध्रुवीकृत बनाउन सामाजिक सञ्जालको गलत प्रयोग कसरी भइरहेको छ भन्ने बताउँदै यो स्थितिलाई मत्थर पार्न परम्परागत मिडियाको उचित हस्तक्षेप चाहिने समाधानको उपाय पनि सुझएको चित्तबुझदो लाग्यो ।

अन्य सामग्रीहरूमा सामाजिक सञ्जालको दुरुपयोगबाट चुलिँदै गएको साइबर अपराध, इन्टरनेट साक्षरता नहुँदा बढेका ठगी, सामाजिक सञ्जाल मार्फत महिला तथा बालबालिकाले भोग्नुपरेको हिंसाका कुरा मात्र छैन, सामाजिक सञ्जालमा के राख्ने, के नराख्ने भन्ने बुझउँदै विद्यालय स्तरदेखि नै मिडिया साक्षरता आवश्यकता रहेकोमा जोड पनि दिइएको छ । यस्तै, अनलाइन हिंसामा महिला राजनीतिकर्मी, साइबर अपराध अनुसन्धानका कठिनाइ, अनलाइनको भयले खुम्चिँदो समाज, सामाजिक सञ्जालमा हुने यौनिक, लैङ्गिक तथा जातीय विभेद लगायतको गहन विषयवस्तु समेत समेटिएको छ ।

पत्रकारितामा सामाजिक सञ्जालले थपेको चुनौतीको सेरोफेरोमा पानोस साउथ एशियाका कार्यकारी निर्देशक एएस पनीरसेल्भनसँगको अन्तर्वार्ताबाट पनि अबको पत्रकारिता कता मोडिँदै छ भन्ने जटिल प्रश्न तेस्र्याएको छ । सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने, प्रयोगकर्ता तथा कुनै घटनाका पीडित तथा बालबालिकाको गोपनीयता कति सुरक्षित छ जस्ता सामग्रीले इन्टरनेट दुनियाँमा प्रयोगकर्तालाई सचेत बनाएको छ ।

सामाजिक सञ्जालबारे नेपाली मिडियामै सम्भवतः पहिलो पटक यति ठूलो प्याकेज आयो । तर, म्यागजिन मासिक रूपमा प्रकाशित हुने हुँदा यसको प्रभाव लामो समय र पठनीय हुनुपर्छ । त्यसैले केही विषयमा अझ् गहन प्रस्तुति भएको भए सुनमा सुगन्ध हुने थियो ।

गोविन्दराज नेपाल
बालाजु, काठमाडौं

भीडबाट सैनिकको उद्धार

जनआन्दोलनबाट बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि काठमाडौंमा अनियन्त्रित भीडले प्रहरीलाई कुटपिट गरेर मारेको घटनाबारे हिमालको वैशाख अङ्कमा ‘त्यो बहुदल–बर्बरता’ पढेपछि उतिवेलाको घटनाक्रममा केही थप्न मन लाग्यो । ६ प्रहरीको निर्मम हत्याको घटना लगत्तै डल्लु नजिकैको विष्णुमती नदी किनारमा नेपाली सेनाको बज्र दल गुल्मका सिपाही रामबहादुर केसीलाई पनि त्यही भीडले नियन्त्रणमा लिएको थियो । उनको कपाल छोटो थियो र त्यही कारण भीडले ‘यो प्रहरी नै हो, मार यसलाई’ भन्न थाले र बाँधेर कुटपिट गर्न थाल्यो । उनले आफू प्रहरी नभएको बताइरहे, तर सुन्ने ‘मूड’ मा कोही थिएनन् । उनी सेनाको राजा ब्यानर प्रतियोगिताको अवरोध र फायरिङ कार्यक्रममा भाग लिन छाउनी आर्मी क्याम्पमा संलग्न भएको बज्रदल गुल्मका सिपाहीहरूको समूहका थिए ।

केसीको अवस्थाबारे थाहा पाएपछि उनका सेक्सन कमान्डर अमलदार (कर्पोरल) विश्वनाथ ओझा तुरुन्तै बर्दी र हेलमेट लगाएका आफ्नो सेक्सनका १५ जना लिएर घटनास्थल पुगे । परिस्थिति देखेर उनीहरू निकै डराएका हुनुपर्छ, तर फसेका आफ्नो साथीलाई उद्धार गर्न कटिबद्ध थिए । तिनले साथीलाई बचाउन व्यवस्थित र अनुशासित तरीका अपनाए । अमलदार विश्वनाथले उदाहरणीय पहल गरे, उनको नेतृत्वमा रहेका सैनिकहरूले ठूलो व्यवधानका बावजूद असाधारण साहस देखाउँदै आफ्नो साथीलाई सम्भावित दुर्घटनाबाट बचाए ।

अमलदार विश्वनाथ ओझ हुड्डा (सर्जेन्ट) र रामबहादुर केसी प्यूठ (लान्स कर्पोरल) मा बढुवा भएका थिए भने अन्य सैनिकलाई पनि बढुवा गरिएको थियो । त्यति वेला जुम्लामा तैनाथ रहेको बज्रदल गुल्मको कमान्ड गर्न पाएकोमा मलाई गर्व छ ।

दीपक गुरुङ, अनलाइनबाट

‘त्यो बहुदल–बर्बरता’ बारे

जनताकै छोराछोरी जनताकै सेवामा खटिएका थिए । तर, विडम्बना यस्तो नृशंस अपराध गर्दा पनि कुनै अपराधी न्यायको कठघरामा आएनन् । त्यो रगत र आँसुले निरन्तर पोलिरहेकाले होला, देश शान्त हुन नसकेको पनि । हार्दिक श्रद्धाञ्जली ती निर्दोष प्रहरीहरूप्रति ।

नयनबाबु थापा, फेसबूकबाट

शायद यही दिनबाट देशमा विधिको अन्त्य र अराजकताको शुरूआत भयो । म आफैं निरीह भएर अराजकतामा मूकदर्शक भएको पीडा अझै छ । निरीह प्रहरीको बिजोग सम्झँदा आज पनि हृदय रुन्छ ।

भरत केसी, फेसबूकबाट

अहिले सम्झँदा आङ सिरिङ्ग हुन्छ । त्यस वेला अहिले जस्तो एफएम रेडियो, मोबाइल फोन थिएन । रेडियो नेपाल सुनेर बहुदल आयो, कफ्र्यू सकियो भनेर बुबाको हात समाउँदै लगन चोक पुग्दा बुबालाई बन्दुकको कुन्दाले हिर्काइयो । २०४७ वैशाख १० को घटना यस्ता धेरै उपघटनाको परिणाम जस्तै लाग्छ ।

मेनुका महर्जन, फेसबूकबाट

comments powered by Disqus

रमझम