४-१० चैत २०७४ | 18-24 March 2018

घामको विकल्प नखोजौं

Share:
  
- डा. अरुणा उप्रेती
शरीरलाई आवश्यक ‘भिटामिन डी’ को मात्रामध्ये करीब ९०% ‘भिटामिन डी’ सूर्यको किरणबाटै प्राप्त हुन्छ।

बिक्रम राई
२० फागुन २०७४ को हिमाल मा प्रकाशित आवरण रिपोर्ट पढ्ने अवसर पाएँ । रिपोर्ट पछिल्लो समय सुषुप्त रूपमा फैलिएको ‘भिटामिन डी’ को समस्याबारे समयसापेक्ष र जानकारीमूलक लाग्यो । रिपोर्ट पढेपछि पाठकसामु मेरा केही थप अनुभव बाँड्न मन लागेर यो लेख पस्केकी छु ।

लामो समय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरेकी ७० वर्षीया ज्योति श्रेष्ठले केही महीनाअघि मलाई भनेकी थिइन्, “काम गर्दा ढाड र हड्डी दुख्थ्यो । डाक्टरलाई देखाउँदा ‘भिटामिन डी’ को कमी भएर यस्तो भएको भन्दै घाममा बस्न भने । तर, कामको चक्करमा फुर्सत कहाँ हुनु र ! अहिले पनि दुखाइ उस्तै छ ।”

केही दिनअघि फेरि ज्योतिको इमेल आयो । इमेलमा उनले लेखेकी छिन्, “मेरो तौल १० किलो घटेको छ । अनुहारमा चाउरी परेको छ तर मलाई वास्ता छैन । म घाममा बस्न थालेकी छु । दुखाइ पनि निकै कम भएको छ । शायद काम गर्दा केही समय आफ्नो शरीरका लागि छुट्याएको भए यति गाह्रो हुँदैनथ्यो कि !”

धेरै कामकाजी महिलाहरूले अहिले पनि ‘घाममा बस्ने फुर्सत नै छैन’ भनेको सुन्छु । उनीहरूले बुझनुपर्छ– ‘अहिले दिनमा १५ मिनेट घाममा बस्ने फुर्सत नहुँदा केही पछि १५ घन्टा दुखेर बस्नु पर्‍यो भने के गर्ने ?’ कामको बोझ् र शरीर गहुँगोरो हुन्छ भन्ने विचारले घाममा नबस्नेहरूले त बिहानको सूर्य नमस्कार र छट पर्वको महŒव नै बुझेको देखिएन ।

वर्षैभरि सजिलैसँग पाइने सूर्यको स्रोत वास्ता नगरेर, एकछिन घाममा बस्न फुर्सत नभएकाहरू जब ‘भिटामिन डी’ को कमी भएर डाक्टरले ‘भिटामिन डी’ को चक्की दिन्छन्, खुशीसाथ पैसा तिरेर खान्छन् । सित्तैंमा प्राप्त हुने ‘भिटामिन डी’ चाहिं प्रयोग गर्दैनन् । ‘भिटामिन डी’ लाई ‘सन साइन’ भिटामिन अर्थात् सूर्यको प्रकाशबाट पाइने भिटामिन त्यसै भनिएको होइन ।

अहिले औषधि कम्पनीहरूले सकेसम्म बढी क्याल्सियम र ‘भिटामिन डी’ को औषधि प्रयोग गर्नुपर्छ भनिरहेका छन् । महिलालाई त स्वास्थ्यकर्मीले नै २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम र ‘भिटामिन डी’ का चक्की दिन शुरू गरेका छन् । गर्भवतीलाई त अनिवार्य ‘भिटामिन डी’ दिनुपर्छ भन्ने वकालत पनि भइरहेको छ । जुन पटक्कै सही होइन । औषधिमै मात्र समाधान खोज्ने बानीले हामी प्राकृतिक कुरा बिर्सिरहेका छौं । म ‘भिटामिन डी’ र क्याल्सियम दुवै खान्न तर पौष्टिकताले भरिपूर्ण खाना खान्छु र घाममा बस्छु ।

खानामा जति नै मात्रामा क्याल्सियम तथा फोस्फोरस भए पनि ‘भिटामिन डी’ को मात्रा नभएमा ती तत्व शरीरले ग्रहण गर्न सक्दैनन् । अनि अनेक किसिमका समस्या पैदा हुन्छन् । सबैले बुझनुपर्छ, शरीरलाई आवश्यक ‘भिटामिन डी’ को मात्रा मध्ये करीब ९०% ‘भिटामिन डी’ सूर्यको किरणबाटै प्राप्त हुन्छ । घाममा बच्चालाई तेल लगाउँदा बच्चा कालो हुन्छ भन्ने डर मान्ने अभिभावकले बुझनुपर्छ कि ‘भिटामिन डी’ ले नै बालबालिकामा दम र श्वासप्रश्वास रोगको समस्या घटाउँछ । बाथरोग जोखिम पनि कम गर्छ । रोगसँग लड्ने क्षमतामा पनि वृद्धि गर्छ ।

घामबाट ‘भिटामिन डी’ पाइएसँगै हाम्रै घरेलु खानेकुराबाट क्याल्सियम पर्याप्त पाइन्छ । १०० ग्राम गहतमा २८७ मिलिग्राम र १०० ग्राम तिलमा १४५० कि.ग्रा. क्याल्सियम पाइन्छ । आलस, ज्वानो, भटमास, गुन्द्रुक, सस्याङ, तोफु, दही, मोही क्याल्सियम पाइने थप खानेकुरा हुन् । तर यस्ता वस्तु छोडेर धेरैलाई औषधि नै खानुपर्छ भन्ने भ्रम छ । भ्रम चिर्न हाम्रा पुर्खाहरूले कसरी घाममै बसेर आफूलाई स्वस्थ राख्थे भन्ने विचार गर्नुपर्छ ।

किशोरीहरूले छाला कालो हुन्छ भनेर घाममा बसेनन् भने उनीहरूको प्रजनन् स्वास्थ्यमा पनि असर पर्छ । घाममा बस्दा पुठ्ठाको हड्डी बलियो हुन्छ, जसबाट गर्भावस्था र प्रसूतिको बेलामा पनि स्वास्थ्य राम्रो हुन्छ । पछि रजोनिवृत्ति भएपछि पनि हड्डी दुख्ने समस्या रहन्न । त्यसैले पनि मजासँग घाममा बसौं ।

comments powered by Disqus

रमझम