१६–३१ वैशाख २०६९ | 28-April - 13 May 2012

सीसी क्यामेरामा पढाइ

Share:
  

गाउँका गरीब परिवारका विद्यार्थी पढ्ने स्कूलमा होहल्ला हुन्छ, जथाभावी फोहोरमैलाका कारण विद्यालयको वातावरण धमिलिएको हुन्छ । तर, यो सरकारी विद्यालयप्रतिको आम धारणा सुर्खेतको इत्रामस्थित श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माविमा लागू हुँदैन । स्तरीय पढाइ र अनुशासित वातावरणका कारण सरकारी भएर पनि यो विद्यालय जिल्लाकै नमूना शैक्षिक प्रतिष्ठान बनेको छ ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष भइसकेका गेहेन्द्र दाहाल २०६५ मा विद्यालयको प्राचार्य भएपछि स्कूलले कोल्टे फेर्ने मौका पाएको हो । विद्यार्थी अनुशासनका लागि विद्यालयले आफ्नै स्रोतबाट २० मंसीर २०६७ मा सीसी क्यामेरा जडान गरेको छ । प्राचार्य दाहाल भन्छन्, “हामी विद्यार्थीलाई पिट्दैनौं । क्यामेराले गल्ती भेटेको छ भने सम्बन्धित विद्यार्थीलाई बोलाएर सच्चिन लगाउँछौं । उनीहरू अनुशासनमा डोरिएका छन् ।”

क्यामेराले सबै कुरा रेकर्ड गर्ने भएपछि शिक्षकहरू पनि पठनपाठनमै केन्द्रित हुन्छन् । परीक्षाका बेला यो प्रविधि झ्नै उपयोगी सिद्ध भएको छ । परीक्षा मर्यादित भएको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन विद्यालयले विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा मल्टिमिडिया प्रोजेक्टर प्रविधि पनि अपनाएको छ । शिक्षणको यो तरिका दश जोड दुईमा लागू गरिएको छ ।

रामजी दाहाल

comments powered by Disqus

रमझम