प्राधिकरणले सिङ्गापुरको नमस्तेसँगै मलेशियाको न्यूमेरा एसडीएन बीएचडी र भारतको ओएसआई कन्सल्टिङ प्रालिको जोइन्ट भेन्चर (जेभी) लाई ठेक्का दिएको हो । यसअघि ठेक्काको प्रस्ताव पेश गर्ने मोबिलियन ट्रेड इन्टरनेशनल प्रालि, ग्रीन आइटी सोलुसन्स् प्रालि र इन्फ्रा डाटा एनभीको जेभीलाई प्राधिकरणले अयोग्य ठहर गरेको थियो । मोबिलियनले नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको रिचार्ज कार्ड बिक्री गर्ने गरेको कारण ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट (सीओआई)’ हुने प्राधिकरणले जनाएको थियो । तर, नेपालकै दूरसञ्चार प्रदायक स्मार्टसेलसँग कारोबार गर्ने नमस्ते ग्लोबललाई ठेक्का दिंदा भने सीओआई हुने तथ्य लुकाएको छ ।
दूरसञ्चार प्राधिकरणले २५ मंसीर र १० पुस २०७५ मा गरेको अनुगमनबाट नमस्ते ग्लोबल र स्मार्ट टेलिकमबीच अन्तर्राष्ट्रिय कल बाइपास सम्बन्धी ‘रेसिप्रोकल भ्वाइस सर्भिस’ का लागि सम्झौता गरेको भेटिएको थियो । उक्त सम्झौता अनुसार नमस्ते र स्मार्टबीच अन्तर्राष्ट्रिय कल ट्रान्सफरको कारोबार हुने गरेको र त्यसबापत रकम ‘शेयरिङ’ हुने गर्छ ।
हिमाल लाई प्राप्त दुई कम्पनीबीच भएको आर्थिक वर्ष २०७४/७५ को कारोबारको अडिट रिपोर्ट अनुसार स्मार्ट टेलिकमले नमस्ते ग्लोबलसँग सो आवमा अघिल्लो वर्षको बक्यौता समेत गरी झ्ण्डै ३ करोड ८१ लाख लिनुपर्ने देखिन्छ भने करीब ३ करोड ६६ लाख दिनुपर्ने देखिन्छ । दुई कम्पनीबीच २५ जुलाई २०१७ देखि १ जुलाई २०१८ सम्ममा विभिन्न पटक नेपाल इन्भेष्टमेन्ट ब्याङ्क मार्फत कारोबार भएको छ । स्मार्टले नमस्तेसँग भएको कारोबारबारे लेखा परीक्षण सम्बन्धी रिपोर्ट अर्थ मन्त्रालयको ठूला करदाताको कार्यालय ललितपुरमा पनि बुझाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल स्मार्ट र नमस्ते ग्लोबलबीचको सम्बन्धबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । मूल्याङ्कन समितिको सिफारिशका आधारमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अन्तिम निर्णय गरेर एमडीएमएस ठेक्का सम्झौता गरेको उनी बताउँछन् ।
अवैध कल बाइपास आरोपमा पक्राउ परेका नेपाली नागरिक कविन्द्रराज मल्लको नमस्ते ग्लोबलमा गैरकानूनी लगानी रहेको र अहिले सिङ्गापुरमा बस्दै आएका स्मार्ट सेलका लगानीकर्ता सतिशलाल आचार्य मार्फत नेपालका शक्ति केन्द्रलाई प्रभावमा पारेर एमडीएमएसको ठेक्का हत्याएको यसअघि नै हिमाल ले खुलासा गरिसकेको छ । मल्ल सहित थप तीन जना विरुद्धको अवैध कल बाइपास सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ विपरीत अवैध कल बाइपासको मुद्दा खेपिरहेका मल्लले नमस्ते ग्लोबलमा ५०० अमेरिकी डलर लगानी गरेका छन् ।
स्मार्ट र नमस्तेबीचको सम्बन्धले दूरसञ्चार प्राधिकरणको एमडीएमएसको ठेक्कालाई थप विवादित र शङ्कास्पद बनाएको छ । ई–टेन्डर नगरी परामर्शदाता कम्पनी छनोट गर्नु, विवादित र निष्क्रिय कम्पनीलाई ठेक्का दिनु अनियमितता र चलखेलका उदाहरण हुन् ।
नमस्तेको जोइन्ट भेन्चर कम्पनी न्यूमेरा पनि विवादित कम्पनी हो । उक्त कम्पनीमाथि मलेशियाका ४ करोड ६० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ताको गोप्य सूचना चुहाएको आरोप छ । यसै कारण मलेशिया सरकारको कम्युनिकेशन एण्ड मल्टिमिडिया कमिसनले न्यूमेरासँगको एमडीएमएस जस्तै ठेक्का सम्झौता १७ असोज २०७६ मा रद्द गरेको छ । कमिसनले गत वर्ष पनि मोबाइल प्रयोगकर्ताको गोपनीयताको सुरक्षा गर्न नसकेको भन्दै न्यूमेरालाई कारबाही गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला दूरसञ्चार प्राधिकरणको एमडीएमएस ठेक्कामा अनियमितता भएको भन्ने जानकारीका आधारमा अनुसन्धान भइरहेको बताउँछन् ।