८-१४ चैत २०७१ | 22-28 March 2015

उल्झाउने प्रहरीले सुल्झायो

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
प्रहरीभित्रको अनियमित चलखेलका कारण १२ वर्षसम्म लम्बिएको रानीबारी–हत्या अनुसन्धान सफल हुनुमा अन्ततः प्रहरीकै निष्ठाले काम गरेको छ।

मृतक दम्पती हेमन्त–अञ्जली श्रेष्ठ छोरी आज्ञाश्रीका साथमा ।
१२ वर्षसम्म रहस्य बनेको राजधानीको चर्चित रानीबारी हत्याकाण्डमा अन्ततः प्रहरीले सफलता हात पारेको छ। २९ फागुनमा प्रहरीले राजधानीबाटै घटनाका दुई अभियुक्त मनराज गुरुङ (३०) र प्रमेश पुन (३२) लाई पक्राउ गर्‍यो।

२ चैतमा अभियुक्तहरू सार्वजनिक गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले 'रानीबारी हत्याकाण्ड' का दोषी पक्राउले कुनै पनि घटनाका दोषीले उन्मुक्ति नपाउने प्रमाणित भएको बताए। यससँगै यो घटनाको अनुसन्धानमा खटिएकाहरूले हत्यालाई 'कमाइखाने भाँडो' नबनाएको भए अनुसन्धान त्यति जटिल थिएन भन्ने कुरा समेत पुष्टि भएको छ।

३१ असार २०५९ को बिहान वैदेशिक रोजगार व्यवसायी गीता खड्काको रानीबारीस्थित चारतले घरमा भाडामा बस्ने इन्जिनीयर दम्पती हेमन्त श्रेष्ठ (३७) र अञ्जली (३६) लाई मनराज र प्रमेशको समूहले खुकुरी प्रहार गरी बीभत्स हत्या गरेको थियो। घाँटीमा खुकुरी प्रहार गरिएकी श्रेष्ठ दम्पतीकी पाँच वर्षीया छोरी आज्ञाश्री भने बच्न सफल भएकी थिइन्। (हे. बक्स)हत्यामा संलग्न दुई अभियुक्त पक्राउ परे पनि प्रमुख योजनाकार भने अझै फरार छ।
सीआईबी प्रमुख डीआईजी मल्ल घटनाको मुख्य योजनाकार पनि चाँडै पक्राउ पर्ने बताउँछन्। “मुख्य योजनाकार विदेशमा रहेको सूचना पाएका छौं, पक्राउ नपर्ने कुरै छैन”, उनी भन्छन्। घटनाको अनुसन्धानका लागि प्रहरीले 'अप्रेसन साइलेन्ट सर्च' शुरू गर्दै टोली परिचालन गरेको थियो।

प्रहरीले घटनालगत्तै गीताका पूर्वपति उत्तम खड्का र व्यावसायिक साझेदार रमेश न्यौपानेमाथि अनुसन्धान थालेको थियो। तर, उनीहरूले सफाई पाए। अहिले खड्का बेलायत र न्यौपाने ब्याङ्कक्मा बसिरहेको बताइन्छ।

२ चैतमा सार्वजनिक गरिएका हत्या आरोपी मनराज गुरुङ

प्रमेश पुन 'चौहान'

गीता खड्का जसलाई हत्याराहरुले मार्न चाहेका थिए।

अभियुक्तका रूपमा प्रहरीद्वारा सार्वजनिक मनराज र प्रमेश दुवै ज्यान मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन्। श्रेष्ठ दम्पतीको हत्यापछि उनीहरूले वैदेशिक रोजगार व्यवसायी लीलामाया गिरीको हत्या गरेका थिए। मनराजको नाममा २०६४ सालमा दोलखाका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापामाथि कुटपीटको मुद्दा पनि छ। तर, उनको अपराध श्रृंखला यतिमा सीमित छैन। (हे. बक्स)

२०६७ सालमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्थापनापछि तत्कालीन प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले रानीबारी घटनाको अनुसन्धान पुनः शुरू गरेका थिए। त्यो बेला नै गीतालाई मार्न आएका 'कन्ट्रयाक्ट किलर' हरूबाट श्रेष्ठ दम्पतीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो। तर, अभियुक्त पक्राउ गर्न चार वर्ष लाग्यो।

भण्डारीपछि सीआईबी प्रमुख बनेका हालका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले महानिरीक्षकको शपथ लगत्तै रानीबारी काण्डका अपराधी पक्राउ गर्नु आफ्नो मुख्य चुनौती भएको बताएका थिए।

घटना अनुसन्धानका लागि सीआईबीले गठन गरेको 'अप्रेसन साइलेन्ट सर्च' का सदस्य डीएसपी भीम दाहाल कतिपय प्रमाण नै हराइसकेको स्थितिबाट थालिएको अनुसन्धानबाट यो सफलता हासिल गरिएको बताउँछन्।

अनुसन्धानको १२ वर्षे सकस

१२ वर्षपछि हत्यारा पक्राउ पर्नु खुशीको कुरा भए पनि यसमा ढिलाइ हुनुमा प्रहरीकै अकर्मण्यता कारक रहेको देखिन्छ। तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको समयमा यो घटना प्रहरीका लागि 'दुहुनो गाई' नै बनेको थियो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक रविकान्त अर्याल, हनुमानढोकाका तत्कालीन प्रहरी उपरीक्षक रामचन्द्र खनाल र प्रहरी नायब उपरीक्षक रामचन्द्र ढकालले समेत यो घटनाबाट 'अनुचित लाभ' लिएको आशंका गरिन्छ।

घटना भएको त्यस दिन बिहान करीब ६ बजे गीतालाई भेट्न आएका मनराज र प्रमेश भुईंतलामा रहेको श्रेष्ठ दम्पतीको डेरामा छिरेका थिए। दोस्रो तलामा रहेकी गीतासम्म पुग्नुअघि उनीहरूले अन्धाधुन्द खुकुरी प्रहार गरी दम्पतीको हत्या गरेका थिए। छोरी आज्ञाश्रीमाथि समेत जाइलागेका मनराजलाई रोक्दै प्रमेशले शौचालयमा थुनेर उनलाई जोगाएका थिए। प्रहरीका अनुसार तल्लोतलाको घटना थाहा पाएलगत्तै घरधनी गीताले छिमेकमा हारगुहार गर्दै कराएपछि हत्याराहरू भागेका थिए। नजिकैको धारामा रगत लागेको हात पखालेर अन्यत्र लागेका हत्याराहरूलाई स्थानीयवासीले प्रत्यक्ष देखेका थिए।

घटनास्थलमा आधा घन्टापछि प्रहरी पुग्दा श्रेष्ठ दम्पतीको मृत्यु भइसकेको थियो। तर, प्रहरी आउनुअघि नै घरधनी गीताका साझेदार रमेश न्यौपाने त्यहाँ पुगेका थिए। लेनदेनको विषयमा न्यौपानेले नै गीतालाई मार्न पठाएको हुनसक्ने आशंका गरिए पनि प्रहरीले पछि न्यौपानेलाई निर्दोष मानेको थियो।

घटनालगत्तै प्रहरीले तत्कालीन अपराध महाशाखाका प्रमुख एसपी रामचन्द्र खनालको संयोजकत्वमा छानबीन समिति गठन गर्‍यो। खनाल टोलीले हेटौंडाका प्रकाश लामा र ईश्वर गुरुङलाई मुख्य अभियुक्त ठानी स्केच समेत सार्वजनिक गर्‍यो।

घरधनी गीतालाई नक्कली राहदानी बनाई बेलायत लगायतका देश पठाउने गरेको आरोप लाग्दै आएको थियो। उनको उठबस तत्कालीन गृहमन्त्री खुमबहादुर खड्कासम्म रहेको जानकारहरू बताउँछन्। गीताले शुरूमा आफूलाई मार्न आएकाबाटै श्रेष्ठ दम्पतीको हत्या भएको बयान दिएकी थिइन्। तर, प्रहरीले त्यसतर्फ थप अनुसन्धान गर्न चाहेन। बरु चक्रे मिलन, राजु गोर्खालीदेखि नयाँदिल्ली, भारतका सुवास अग्रवालसँग सोधपुछमा केन्द्रित रह्यो।

रानीबारी हत्याकाण्डमा पक्राउ परेका मनराज गुरुङ कसरी राजनीतिक संरक्षणबाट सांगठनिक अपराधमा संलग्न थिए भनेर हिमाल ले पटक पटक समाचार प्रकाशित गरिसकेको थियो (हे. रिपोर्टहरु गुण्डातन्त्र http://nepalihimal.com/article/2492

प्रहरीले त्यसबेला अनुसन्धानको निहुँमा वैदेशिक रोजगार व्यवसायीको कार्यालयमा छापा मार्दै 'लेनदेन' थालेको थियो। तत्कालीन प्रहरी उपरीक्षक खनाल र प्रहरी नायब उपरीक्षक ढकालको ध्याउन्न नै गीता र न्यौपानेलाई धम्क्याउँदै पैसा माग्ने देखिएको प्रहरी स्रोत बताउँछ। घटनाको चार वर्षसम्म नेपालमै रहेकी गीता बारम्बारको प्रहरी 'डिमान्ड' पूरा गर्न नसकेपछि भारत पलायन भएको बताइन्छ।

घटनाको ९ महीनापछि उनै मनराज र प्रमेशले १७ वैशाख २०६० मा धादिङको गोलढुंगामा लीलामाया गिरीको हत्या गरेका थिए। पति सीताराम रेग्मीबाट रु.६ लाख रुपैयाँ लिई लीलामायाको हत्या गरेका मनराज १३ महीना जेल बसे भने प्रमेश साढे ८ वर्षपछि मुक्त गराइए। उस्तै प्रकृतिको घटना भए पनि प्रहरीले गोलढुंगा हत्या काण्डलाई त्यसबेला रानीबारी घटनासँग जोडेर हेरेन। एक प्रहरी अधिकारी भन्छन्, “दुई वटा घटनामा प्रत्यक्षदर्शीले दिएको हुलिया विवरण समान भए पनि अनुसन्धानमा त्यसबेला रानीबारी ओझेलमा पारियो।” १२ वर्षमा विभिन्न छानबीन समितिले १८ वटा प्रतिवेदन बुझायो तर अपराधी पक्राउ पर्न सकेको थिएन।

न्यायको आशामा श्रेष्ठ दम्पतीका परिवारले पटकपटक गृहमन्त्री र प्रहरीप्रमुखको ढोका ढकढक्याए। तर, सधैं निराशा मात्र हात लागेको मृतक अञ्जलीका भाइ ज्ञानेन्द्र बताउँछन्। उनी हत्यारा पक्राउ परेसँगै १२ वर्षको सकसबाट बल्ल मुक्त भएको बताउँछन्। “समयमै प्रहरी जिम्मेवार भइदिएको भए हामीले १२ वर्ष कुर्नुपर्ने थिएन”, अञ्जलीका अर्का भाइ राजेन्द्र भन्छन्।


**'खुलेर बाँच्न चाहन्छु' **

आज्ञाश्री श्रेष्ठ

बुवा–आमा गुमाउँदा आज्ञाश्री पाँच वर्षकी थिइन्। १७ वर्ष लागेकी उनी अहिले प्लस टु पढिरहेकी छन्। १२ वर्षअघिको त्यो कालो दिनलाई उनी यसरी सम्झिन्छिन् :

मेरा निर्दोष बाबा–आमाका हत्याराहरुले मलाई पनि खुकुरी प्रहार गरेका थिए। तर, दुई जनामध्येको एकले मलाई दोस्रो पटकको प्रहारबाट जोगाएर ट्वाइलेटमा थुनेर चुक्कुल लगाइदिएकाले म बाँचें। चिउँडोदेखि घाँटीसम्म ४४ टाँका लगाउनुपर्‍यो। दाग मेटिएको छैन। यो दागले पनि हरेक दिन मलाई त्यो दिन सम्झाइरहन्छ। मेरो अनुहार र हातमा दाग देखेर साथीहरूले धेरै सोध्छन्। तर, यस्तो घटनाबारे मैले कहिल्यै कसैलाई सुनाएकी छैन। घरबाहिरका मान्छेलाई सुनाएको यो पहिलोपटक हो। मेरो दुःख सुनाएर अरूले दया देखाउन् र दुःखी हुन् भन्ने चाहना छैन।

कैयौं दिनसम्म घटनाको झल्को आइरहन्थ्यो। तर, मामा–माइजू, हजुरआमा–हजुरबाबाको मायाले (हे. तस्वीर) विस्तारै पीडा बिर्संदै गएँ। साथीहरूलाई तिनका आमा–बाबासँग देख्दा भने कताकता दुःखेको जस्तो हुन्छ।

मलाई त ती हत्याराहरू कहिल्यै पक्राउ पर्दैनन् जस्तो लाग्थ्यो। तर, मामाहरूसँग आश बाँकी थियो। अहिले पत्रपत्रिका र टीभीमा अपराधीको अनुहार देख्दा मेरो आँखामा एकाएक त्यो दिनको घटना झल्झली भयो। वर्षौंदेखि गुम्सिएको पीडा हटेको छ, मन साह्रै हलुको भएको छ। पीडाबाट मुक्ति पाए जस्तो भएको छ।

हत्याको बदला हत्या भन्ने होइन। तर, उनीहरूले पनि यातना पाउनुपर्छ। मैले किन सजाय भोगिरहेछु भनेर सम्झिरहुन्। बाँचेर पनि मरिरहुन्।

मलाई सामाजिक सेवामा लाग्न मन छ। फिल्म मेकिङमा पनि रुचि छ। मैले जस्तो पीडा कसैले भोग्नु नपरोस्। म पीडा भुलेर खुलेर बाँच्न चाहन्छु।


यी हुन् मनराज

अपराधीको आसनः चैत २०६६ मा दोलखामा तत्कालीन सिडिओ श्रीकृष्ण श्रेष्ठ र स्थानीय नेता तथा सुरक्षा प्रमुखका साथ एउटै मञ्चमा सिडिओ कुटेर फरार मनराज गुरुङ (बायाँ रातो घेरामा)।

राजधानीको साल्सा डान्स बार सञ्चालक दोलखा, खारे–६ का मनराजका अनेकौं रूप छन्। राजधानीकै माउन्टेन होटलका सञ्चालक रवीन्द्र मल्ललाई ३६ प्रतिशतमा ऋण दिएका मनराज पक्राउ पर्नुअघिसम्म मल्लकै बीएमडब्ल्यू कार चढेर हिंडिरहेका थिए।

मनराज नेतृत्वको समूहले १३ साउन २०६४ मा एमाओवादीका जिल्ला नेता विशाल खड्का विरुद्ध सार्वजनिक मुद्दा चलाएको निहुँमा दोलखाका प्रजिअ उद्धवबहादुर थापालाई कार्यालयमै हातपात गरेका थिए। विशाल एमाओवादी नेतृ एवं पूर्वराज्यमन्त्री देवी खड्काका भाइ हुन्। कुटपीट विरुद्ध उतिबेलै मुद्दा दायर गरिए पनि मनराज 'फरार' थिए। तर, विडम्बना, उनै मनराज दुई वर्षपछि २०६६ सालमा दोलखा सदरमुकामकै एउटा कार्यक्रममा प्रजिअ श्रीकृष्ण श्रेष्ठसँगै देखिए। तर, प्रशासन र प्रहरी दुवैले अभियुक्त मनराजलाई देखेर पनि नदेखे झै गर्‍यो। (हे. तस्वीर)

आखिर किन मनराज पक्राउ परेनन्? जवाफ प्रष्ट थियो। उनी काजी शेर्पाको संरक्षणमा खुलेआम गुण्डागर्दी मच्चाइरहेका थिए। र, काजीको संरक्षण राजनीतिक दलले गरिरहेका थिए।

कुटिएपछि सिडिओ उद्धवबहादुर थापा।
पाँच वर्षअघिसम्म कुख्यात 'गुण्डा' को प्रहरी सूचीमा रहेका काजीको चाँगेस्तान कन्स्ट्रक्सन कम्पनीले आर्थिक वर्ष २०६७/६८ मा तीनवटै सुरक्षा अङ्गको रासन ठेक्का पाएको थियो। २०६४ सालदेखि नै सशस्त्र प्रहरी बल र नेपाली सेनाको रासन ठेकेदार काजीले 'पहुँच' कै आधारमा हनुमानढोकास्थित महानगरीय परिसर र अपराध महाशाखाको 'गुण्डा' सूचीबाट आफ्नो र मनराजको नाम र तस्वीर हटाइसकेका थिए। काजीका 'दाहिने हात' भएकैले मनराजलाई प्रशासनले पक्रने आँट नगरेको बारे हिमाल ले पटक पटक समाचार प्रकाशित गरिसकेको थियो। (हे. तस्वीर)

रात्रि व्यवसाय, जग्गा प्लटिङ, व्यापारिक कम्प्लेक्स, ठेक्कापट्टा, बालुवा खानी, पार्किङ, रेस्टुरेन्ट जस्ता थुप्रै कारोबारमा लगानी गरेका मनराज पछिल्लो समय अर्का गुण्डा नाइके चक्रे मिलन र पूर्ण गुरुङसँग पनि निकट थिए।

लीलामाया गिरीको हत्याको सम्पूर्ण जिम्मेवारी सहयोगी प्रमेशलाई सकार्न लगाई १३ महीनामै जेलबाट छुटेका मनराजले लगत्तै राजनीतिक पहुँच बढाएका थिए। फलस्वरुप बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा मन्त्रिपरिषद्बाटै आममाफीको निर्णय गराएर आजीवन सजाय पाएका प्रमेशलाई साढे ८ वर्षमै छुटाए।

दोलखामा प्रजिअ थापामाथि मनराजले गरेको सांघातिक आक्रमणको गुन तिर्न एमाओवादीले प्रमेशलाई जेलमुक्त गराएको सहजै बुझ्न सकिन्छ। गोलढुंगा हत्यामा पुन थर बताएका प्रमेशले यसपटक पक्राउ पर्दा आफू चौहान भएको र जोरपाटीस्थित एम्पिज क्याफे एण्ड रिसोर्ट चलाइरहेको बताएका थिए। आफ्नो लागि समेत जेल बसिदिएबापत मनराजले नै उनलाई क्याफे किनिदिएको बताइन्छ।


'टीभी हेरेपछि एसिड किनें'

देबकी बिष्ट
अस्पतालमा उपचाररत घाइते संगीता मगर।
१० फागुनमा काठमाडौं झोंछेस्थित ट्युसन सेन्टरमा दुई छात्रामाथि एसिड आक्रमण गर्ने जीवन विक (२०) पक्राउ परेका छन्। पीडित छात्रा संगीता मगर र सीमा बस्नेत अहिले अस्पतालबाटै एसएलसी परीक्षा दिइरहेका छन्।

झोंछेमा एउटै घरमा भाडामा बस्दा जीवन र संगीताको चिनजान भएको थियो। बीबीएससम्म पढेका जीवन संगीतालाई ट्युसन पनि पढाउँथे। पढाउनेक्रममै संगीता मन परेको तर त्यो कुरा थाहा पाई उनको परिवारबाट पटकपटक दुर्व्यवहार खप्नु परेको जीवनले प्रहरीसँग बताएका छन्।

संगीताले मन नपराएपछि बदला लिने योजना अनुसार जीवन 'भारतीय आर्मी बन्छु' भन्दै घरबाट हिंडेका थिए। तर, उनले टोखामा डेरा लिए। रड र लाठीले हानी संगीतालाई मार्ने शुरुआती योजना बनाएका उनले भारतीय टेलिभिजनमा एसिड आक्रमणका घटना देखेपछि एसिड खोज्न थालेको प्रहरीसँग बयान दिएका छन्। संगीतामाथि एसिड आक्रमणपछि उनी सिक्किम पुगेका थिए।

प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माका अनुसार २८ फागुनमा भारतबाट फर्किएका जीवनलाई ५ चैतमा कोठाबाटै पक्राउ गरिएको थियो। संगीताकी आमा चमेली मगरले शंका गरेकै व्यक्ति पक्राउ परेको भन्दै कडा कारबाहीको माग गरेकी छन्।

छात्रामाथि एसिड प्रहार गर्ने जीवन विक

२८ साउन २०६६ को सर्वोच्च अदालतको फैसलाले महिलाउपर हुने एसिड आक्रमण जस्तो हिंसात्मक घटनाका अपराधीलाई कारबाही गर्ने छुट्टै कानून बनाउन दिएको आदेश पूरा भएको छैन। जीवनलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।

comments powered by Disqus

रमझम