१७-२३ फागुन २०७१ | 1-7 March 2015

गोदाम भयो पुस्तकालय

Share:
  

धनकुटा नगरपालिका–६ सिरान बजारमा २०४१ सालमा स्थापित पुस्तकालय थला परेको छ। जिल्लाकै जेठो यो पुस्तकालय अहिले पुराना किताब थन्काउने गोदाम जस्तो भएको छ। नेपाली, हिन्दी र अंग्रेजी साहित्य, भूगोल, राजनीतिशास्त्र, इतिहास आदिका करीब १५०० पुस्तक रहेको पुस्तकालयमा पाठक जानै छाडेका छन्।

हरिबहादुर लम्जेल

स्थापनाकालमा साहित्यिक पत्रिका 'निर्माण' प्रकाशन गरेको यो पुस्तकालय हेरचाहका लागि धनकुटा नगरपालिकाले केही वर्षसम्म एक जना कर्मचारी राखेको थियो। पुस्तकालय बेवारिसे भएपछि व्यवस्थापन सम्हालेको सिरान बजार युवा क्लबले पनि आर्थिक संकट परेको भन्दै तीन वर्षदेखि लत्तो छाडेको छ। पछिल्लो एक वर्षदेखि स्थानीय राधाकृष्ण टोलबस्ती संगठनले भवनको पहिलो तलामा पत्रपत्रिका पढ्ने व्यवस्था मिलाएको छ। तर, यो कति समयलाई हो, कसैलाई थाहा छैन।

हरिबहादुर लम्जेल, धनकुटा


द्वन्द्वपीडितका नाममा ठग्नेलाई जेल

द्वन्द्व पीडितका नाममा किर्ते गरी राहत र क्षतिपूर्ति ठगी गरेको आरोप प्रमाणित भएपछि पाँचथरको फक्तालुङ टी स्टेटका कार्यकारी निर्देशक सन्तवीर आङदेम्बेलाई तीन वर्ष कैद र रु.६५ लाख ५८ हजार जरिवाना हुने भएको छ। जिल्ला अदालत पाँचथरका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले १३ फागुनमा गरेको फैसलामा आङदेम्बेबाट कैद र जरिवाना बाहेक जाहेरवालालाई रु.६५ लाख ५८ हजार बिगो पनि भराउने उल्लेख छ। आङदेम्बेले द्वन्द्वकालमा कम्पनी र मजदूरको गरी रु.८ करोड २२ लाख २३ हजार क्षति भएको भन्दै किर्ते कागजात खडा गरेर शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट उक्त रकम निकासा गराएका थिए (हे. हिमाल, २८ पुस–४ माघ, http://nepalihimal.com/article/2195 मन्त्रालयदेखि जिप्रकासम्म मिलेमतो)।

कागजात किर्ते गरी शान्ति मन्त्रालयबाट रकम निकासा गराएर हिनामिना गरेको भन्दै उजुरी परेपछि प्रहरीले आङदेम्बेलाई १७ पुस २०७० मा पक्राउ गरी १२ माघ अदालतमा मुद्दा दर्ता गराएको थियो। आङदेम्बेले आफू कार्यकारी निर्देशक रहेको टी स्टेटका मजदूर, वैदेशिक रोजगारीमा रहेका स्थानीय र मृतक समेत गरी २२ जनाको किर्ते कागजात खडा गरी उनीहरूकै नाममा रु.७३ लाख भुक्तानी लिएको अभियोग पत्रमा उल्लेख छ। उनी सहित ७ जना विरुद्ध सोही टी स्टेटका अध्यक्ष मनप्रसाद आङदेम्बे सहित १३ जनाले सामूहिक उजुरी दिएका थिए। अदालतले आङदेम्बेलाई किर्ते कागजात तयार गर्न सहयोग गरेको ठहर गर्दै गोपाल आचार्यलाई एक महीना कैद, ५ हजार रुपैयाँ जरिवाना र विगो भराउने फैसला सुनाएको छ।

लक्ष्मी गौतम, पाँचथर

comments powered by Disqus

रमझम