१६ मंसिर २०७० | 1 December 2013

कमजोर नै थियो एमाओवादी

Share:
  

संविधानसभा निर्वाचनको मत परिणाममा नेपाली कांग्रेस र नेकपा एमाले अग्रस्थानमा देखिएका छन् भने अघिल्लो निर्वाचनमा मुख्य दल बनेको एमाओवादी तेस्रो दलमा खुम्चिन पुगेको छ। हिमाल ले वितेका महीनाहरूमा गरेको सर्वेक्षणले पनि एमाओवादीको प्रभाव क्रमशः खुम्चिएको र कांग्रेस र एमाले नै मुख्य दल हुने देखाएको थियो। वि.सं. २०७०, भदौ पहिलो साता देशका प्रमुख १२ शहरका ३७४ जनासँग सोधिएको 'आउँदो चुनावमा कुन दललाई मत दिने विचार गर्नुभएको छ?' भन्ने प्रश्नमा २३ प्रतिशत उत्तरदाताले नेपाली कांग्रेसलाई मत दिने बताएका थिए। १४.२ प्रतिशतले नेकपा एमाले तथा १२.६ प्रतिशतले एमाओवादीलाई मत दिने बताएका थिए। त्यस्तै ५.३ प्रतिशतले राप्रपा नेपाल तथा ५.१ प्रतिशतले मधेशवादी दललाई छनोट गरेका थिए। १८.७ प्रतिशत उत्तरदाताले भने 'थाहा छैन' र १९.३ प्रतिशतले 'भन्न चाहन्न' बताएका थिए। (हे. http://nepalihimal.com/article/1524 त्यसको दुई सातापछिको समान नमूना आकारमा गरिएको अर्को सर्वेक्षणले पनि कांग्रेस नै पहिलो दल हुने देखिएको थियो। 'आउँदो चुनावमा कुन दललाई मत दिने विचार गर्नुभएको छ?' भनेर नै सोधिएको प्रश्नमा १८.२ प्रतिशतले कांग्रेसलाई तथा १२.३ प्रतिशतले एमाओवादी र त्यतिले नै एमालेलाई मत दिने बताएका थिए। अघिल्लोमा जस्तै १२ शहरका सोही संख्याका उत्तरदातामध्ये ७ प्रतिशतले मधेशवादी दल, ३.५ प्रतिशतले राप्रपा नेपाल तथा २.७ प्रतिशतले नेकपा–माओवादीलाई मत दिने बताएका थिए। यो सर्वेक्षणमा पनि ठूलो संख्या अर्थात् १३.९ प्रतिशतले कसलाई मत दिने भन्ने थाहा नभएको तथा १८.८ प्रतिशतले भन्न नचाहेको उत्तर दिएका थिए।

संविधानसभा निर्वाचनको करीब तीन साताअघि कात्तिक दोस्रो हप्ता गरिएको सर्वेक्षणले पनि धेरै मतदाताले नेपाली कांग्रेसलाई नै मत दिने पक्षमा रहेको देखाएको थियो। यद्यपि यो र यसपछिको सर्वेक्षणको परिणाम निर्वाचन आचारसंहिताका कारण हिमाल मा प्रकाशित गरिएन। यद्यपि यिनै सर्वेक्षणबाट आएको नतीजा र देशव्यापी स्थलगत रिपोर्टका आधारमा २२ कात्तिकमा प्रकाशित हिमाल को आवरण बनेको थियो 'कमजोर एमाओवादी'। (हे. http://nepalihimal.com/article/1892 'आगामी चुनावमा कसलाई भोट दिनुहुन्छ?' भन्ने प्रश्नमा १९.१ प्रतिशतले कांग्रेसलाई रोजेका थिए। सर्वेक्षणमा सहभागीमध्ये १३ प्रतिशतले एमाले तथा १४.१ प्रतिशतले एमाओवादीलाई मत दिने बताएका थिए भने ५.३ प्रतिशतले राप्रपा नेपाल, ४ प्रतिशतले मधेशवादी दललाई। सहभागीमध्ये ८.२ प्रतिशतले कसैलाई पनि नदिने उत्तर दिएका थिए। १६.२ प्रतिशतले थाहा छैन तथा ११.२ प्रतिशतले भन्न चाहन्न भन्ने जवाफ दिएका थिए। स्मरणरहोस् कात्तिकको दोस्रो सातासम्ममा निर्वाचन हुनेमा आशंका हट्दै गएको र वैद्य नेतृत्वको माओवादी निर्वाचनमा सहभागी नहुने निश्चित हुँदै गएका कारण यो साताको सर्वेक्षणमा सहभागीमध्येको एउटा उल्लेख्य हिस्साबाट कसैलाई पनि मत नदिने भन्ने जवाफ आएको देखिन्छ।

संविधानसभा निर्वाचनको मुखैमा कात्तिक अन्तिम साता गरिएको सर्वेक्षणमा पनि कांग्रेसलाई भोट दिन्छु भन्नेहरू सर्वाधिक १९.१ प्रतिशत थिए। सर्वेक्षणमा सहभागीमध्ये १४.५ प्रतिशतले नेकपा एमाले तथा ११.८ प्रतिशतले एमाओवादीलाई रोजेका थिए। ५.४ प्रतिशतले राप्रपा नेपाल, ३.२ प्रतिशतले मधेशवादी दल तथा १.१ प्रतिशतले राप्रपा र स्वतन्त्र उम्मेदवारलाई भोट दिने बताएका थिए। त्यस्तै, यो सर्वेक्षणमा कसैलाई पनि भोट दिन्न भन्ने ८.६, थाहा छैन भन्ने १३.७ र भन्न चाहन्न भन्ने २१ प्रतिशत भेटिएका थिए।

चार वटै सर्वेक्षणमा पहिलो स्थानमा नेपाली कांग्रेसलाई, दोस्रोमा एमालेलाई तथा तेस्रोमा एमाओवादीलाई मत जाने स्पष्ट देखिएको हो। सँगै अनिर्णित मतको हिस्सा पनि उल्लेख्य रहेका कारण निर्वाचनको जितहारमा तिनको मत निर्णायक भएको देखियो।

comments powered by Disqus

रमझम